काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकाललाई राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्रद्वारा जारी व्यवस्था उल्लंघन गरेकाले ढकाललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा(२)को खण्ड(क)बमोजिम सचेत गराइएको हो ।
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा संस्थाको अध्यक्ष ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएकाले उनलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको ‘सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप-समितिमा समावेश हुन पाउने छैन’ भन्ने व्यवस्था रहेको छ ।
ढकालले आफ्नो व्यक्तिगत कारणवस बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै गत फगुनमा राजिनामा दिएका थिए । उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
उनी २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट चार वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई २०८० पुस २८ गतेको सञ्चालक समितिको ३१५ औं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट भएका थिए ।
गत फागुन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खिम प्रकाश मल्ललाई बाँकी कार्यकालका लागि नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।