काठमाण्डौ । 'गठबन्धनमा समस्या आएको हो कि' भन्ने चौतर्फी आशंकालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी आरजू देउवाले प्रतिवाद गरेका छन् ।
सभापति देउवाको स्वास्थ्य उपचारका क्रममा केही दिन बैंकक बसेर शुक्रबार स्वदेश फर्किएका देउवा दम्पत्तिले एउटै स्वरमा एमालेसँगको गठबन्धन सरकारमा कुनै समस्या नरहेको र बजारिया हल्लाको पछाडि दौडिन आवश्यक नभएको दाबी गरेका हुन् ।
प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको र सहमतिअनुसार नै पूरा समयभर गठबन्धन सरकार टिक्ने दाबी गरे । गठबन्धनमा समस्या आएको चौतर्फी हल्लाको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासा मेट्दै देउवाले भने-'केही भएको छैन, गठबन्धन जसरी पनि टिक्छ । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भन्यो, मलाई त थाहा छैन ।'
परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको र यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको बताइन् ।
राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तन हुने हल्लाबारे प्रश्नहरु सोधेका थिए । उनले 'गठबन्धनमा कुनै समस्या नभएको' भन्दै प्रतिवाद गरिन् । उनले अगाडि भनिन्त-'पाईहरुले आफैं भनिसक्नुभयो हल्ला भनेर । यो बिल्कुल हल्ला मात्र हो । अलि अलि इन्टरटेनमेन्टका लागि पनि बेला बेला यस्ता न्यूजहरु आउने गर्छन् ।'