काठमाण्डौ । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा आधा भन्दा बढी काम डिजिटल माध्यमबाट हुने गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएबमोजिम बैंकहरुले यो अभ्यास चालेका छन् ।
अहिले बैंकहरुको ८० प्रतिशत भन्दा बढी काम डिजिटल माध्यमबाट भएका कारण बैंकका ग्राहकहरुलाई समेत थप सहजता भइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै ‘क्यासलेस’को अभ्यास गरिरहँदा नेपालका वाणिज्य बैंक, विकास बैंक र ग वर्गका वित्त कम्पनीहरुले पनि यसलाई समर्थन गरिरहेका छन् ।
बैंकहरुले ल्याएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको सुविधाले ग्राहकरुलाई घण्टौं लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । अब आफुलाई चाहिने रकम सजिलै एटिएम कार्डबाट निकाल्न मिल्ने र आफुसँग भएको रकम डिपोजिट मेसिनबाटै डिपोजिट गर्न सकिने सुविधा बैंकहरुले ल्याइसकेका छन् । साथै घरमै बसेर कर्जाको माग गर्न सकिने सुविधा पनि बैंकहरुले ल्याइसकेका छन् । यसकारण नेपाली बैंकिङ क्षेत्रले डिजिटलाइजेसनमा नयाँ फड्को मारिसकेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा बैंक तथा वित्तीय संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७४ लाख ६४ हजार ९९६ पुगेको छ । यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १२.७३ प्रतिशत बढी हो ।
गत आवको ११ महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा मात्रै यस्तो संख्या २ करोड ३५ लाख ४८ हजार ७२२, विकास बैंकहरुमा ३६ लाख २६ हजार २११ र फाइनान्स कम्पनीहरुमा २ लाख ९० हजार ६३ रहेका छन् ।
मोबाइल बैंकिङसँगै यता इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सख्या पनि गत आवको तुलनामा ३६.९७ प्रतिशतले बढेको छ । चालु आवको ११ महिनासम्ममा यस्तो संख्या २६ लाख ६५ हजार १४३ पुगेको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या १९ लाख ४५ हजार ७३६ रहेको थियो ।
यता बैंक तथा वित्तीय संस्थाहरुमा डेबिट कार्ड लिनेको संख्या ५.१४ प्रतिशतले बढेको छ । चालु आवको जेठ मसान्तसम्म यस्तो कार्ड लिनेको संख्या १ करोड ३५ लाख ९२ हजार १४ पुगेको छ । गत वर्ष भने यस्तो संख्या १ करोड २९ लाख २७ हजार ८५० रहेको थियो ।
साथै क्रेडिट कार्ड लिनेको संख्या पनि ९.३७ प्रतिशतले बढेको छ । गत आवको जेठ मसान्तसम्म यस्तो कार्ड लिनेको संख्या २ लाख ८७ हजार ५२२ रहेकोमा चालु आवको यस अवधिसम्म ३ लाख १४ हजार ४५३ पुगेको छ ।