काठमाण्डौ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण यो साता सेयर बजार बन्द रह्यो । नेप्सेले आज एक सूचना निकालेर असोज २ गतेसम्म समेत सेयर कारोबार नहुने जनाएको छ ।
तर सेयर बजारका अधिकांश लगानीकर्ता तथा ब्रोकरहरुले भने असोज २ गतेसम्म मात्र नभई हालको जटिल राजनीतिक अवस्थामा सुधार नआएसम्मका लागि सेयर बजार बन्द गर्नुपर्ने माग राखेका छन् ।
विभिन्न लगानीकर्ता संगठनहरुले विज्ञप्ती जारी गरेर मनोबल कमजोर भएका बेला आम लगानीकर्ताको सम्पत्ति जोगाउन अस्थायी रुपमा बजार बन्द गर्नुपर्ने माग राखेका छन् ।
सेयरबजार निकै सम्वेदनशील् क्षेत्र भएकाले परिस्थिति सहज भई अर्थतन्त्र चलायमान भएमात्रै सेयरबजार खोल्नुपर्ने उनीहरुको धारणा रहेको छ ।
तर केही लगानीकर्ताहरुले भने दशैंजस्तो चाडपर्व आएका कारण आवश्यक खर्चको जोहो गर्नका लागि भए पनि सेयर बजार लामो समय बन्द हुन नहुने तर्क गरेका छन् ।
यद्यपि अधिकांश लगानीकर्ता भने बजार बन्द हुनुपर्ने पक्षमै देखिन्छन् ।
हिजो मात्रै पाँच लगानीकर्ता संघ संगठनले सेयर बजार बन्द गर्न माग गर्दै नियामक निकायहरुलाई ज्ञापन बुझाएका थिए ।
आज पनि तीन लगानीकर्ता संघ तथा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यथास्थितिमा सेयरबजार नखोल्न माग गरेका छन् ।
यसअघि कोभिडको समयमा सेयर बजार ३ महिना बन्द रहेको थियो भने २०७२ सालको भूकम्पको बेला पनि १ महिना सेयर कारोबार भएको थिएन । तर धितोपत्र ऐन २०६३ को दफा १ को ‘घ’ मा धितोपत्र बोर्डको विशेषाधिकार प्रयोग गरेर बजार एक पटकमा अधिकतम ५ दिन मात्र बन्द हुनसक्ने प्रावधान रहेको छ।
धितोपत्र बजारका जानकार अमृत खरेल अहिले असहज अवस्थाका बीच सर्वोच्च अदालत समेत बन्द रहेको अवस्थामा सेयर बजार बन्द हुनु स्वभाविक भएको तर्क गर्छन् ।
नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले यसअघि पनि कोरोना महामारी तथा भूकम्पको बेला लामो समय सेयर बजार बन्द रहेको नजिर रहेको जानकारी दिए ।
यसैगरी, धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हाल देशको बिषम अवस्थामा माग तथा आवश्यकताको आधारमा सेयर बजार बन्द भएको जानकारी दिए ।
‘देशमा देखिएको जटिल राजनीतिक संकटको घडिमा लगानीकर्ताको सम्पत्ति संरक्षणका लागि सेयर बजार बन्द भएको हो । अवस्थामा क्रमिक सुधार आएसँगै सेयर बजार पुनः सञ्चालनमा आउनसक्छ,’ उनले भने ।
विगतको नजिर हेर्दा र हालको राजनीतिक संकटमा शीघ्र सुधार हुन नसक्ने अवस्थाका कारण यसपालि पनि बजार लामो समयसम्म बन्द हुनसक्ने नियामकहरुको पनि संकेत देखिएको छ ।