काठमाण्डौ । यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’ अहिले क्यारेबियन सागरको उत्तर–पूर्वी दिशामा सर्दै जमैकाको नजिक पुगेको छ । यस आँधीका कारण जमैकामा हालसम्म तीन र हैटी र डोमिनिकन रिपब्लिकमा चार जनाको मृत्यु भइसकेको छ ।
मौसमविद्हरूले मेलिसा जमैकामा हालसम्मकै सबैभन्दा खराब आँधी हुनसक्ने विश्वास गरेका छन् । यस समयमा हावाको गति प्रति घण्टा १७५ माइल (लगभग २९० किमी प्रतिघन्टा) सम्म पुग्न सक्ने र १०१ सेन्टिमिटर (४० इन्च) सम्म वर्षा हुन सक्ने अनुमान गरेका छन् ।
अमेरिकास्थित नेशनल हरिकेन सेन्टरले सोमबार बिहान मेलिसालाई श्रेणी ५ को तुफान घोषणा गरेको छ, जुन आँधीको उच्च श्रेणी हो। क्युबा र दक्षिण–पूर्वी बहामासका लागि पनि चेतावनी जारी गरिएको छ।

