काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन (६२) लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को उल्लंघनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार पक्राउ गरेको थियो।
बुधबार अदालतमा पेस गर्दा म्याद थप भएको र सीआईबी हिरासतमा राखिएको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठ ले जानकारी दिए।
ठाकुरप्रसाद मानन्धरसहितका पीडितहरूको जाहेरीपछि सीआईबीले कुसुम लामा सहित भट्टचनमाथि अनुसन्धान गर्दै आएको थियो। प्रहरीका अनुसार, भट्टचनले प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गर्दै लुकिछिपी बसेका थिए।
विप्रेषण कारोबारमा ठगीको जालो
-२०६९ पुस १ मा प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनी ट्रान्सफर प्रालिबीच सम्झौता।
-दुवै कम्पनीका मुख्य सञ्चालक देवीप्रसाद भट्टचन।
-प्रभु म्यानेजमेन्टलाई सुपर एजेन्ट बनाई कुसुम लामा (तत्कालीन प्रबन्ध निर्देशक) ले देशभरका सहकारीहरूसँग विप्रेषण वितरणको करार।
-विदेशबाट आएको रेमिट्यान्स सहकारीमार्फत भुक्तानी दिने प्रणाली।
-तर सहकारीले ग्राहकलाई रकम तिरे पनि प्रभु मनी ट्रान्सफरले सोधभर्ना गरेन।
-३६ भन्दा बढी सहकारी पीडित, उजुरी परेको।
-नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ को उल्लंघन।
मंगलबार ललितपुरको गोदावरी–३ टौखेल बाट सीआईबी टोलीले भट्टचनलाई नियन्त्रणमा लिएको हो। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो।
राजनीतिक पृष्ठभूमि
-२०७९ को निर्वाचन: नेकपा एमालेको समानुपातिक सूची (जनजाति कोटाबाट पहिलो नम्बर) बाट सांसद।
-त्यसअघि: नेपाली कांग्रेसमा सक्रिय, संगठन विभाग उपप्रमुख।
सीआईबीले रेमिट्यान्स हिनामिनाको जटिल जालो खोल्दै थप व्यक्तिहरूमाथि अनुसन्धान विस्तार गर्ने जनाएको छ।

