काठमाण्डौ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति र प्रकृतिलाई लिएर संस्थापन र इतर पक्षबीचको मतभेद झनै चर्किएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने नयाँ कार्यतालिका प्रस्ताव गरेका छन्। यसलाई संस्थापन पक्षले देशभर क्रियाशील सदस्यता वितरणको काम अझै बाँकी रहेकाले तत्काल महाधिवेशन सम्भव नभएको भन्दै समर्थन गरेको छ।
तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यो प्रस्तावलाई अस्वीकार गर्ने संकेत दिएका छन्। उनीहरूको जोड छ कि पार्टीले नयाँ नेतृत्व, ताजा ऊर्जा र स्पष्ट दिशानिर्देशका साथ आगामी प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्छ। महामन्त्रीद्वयले यसअघि नै पुस २७–२९ गते विशेष महाधिवेशन गर्ने तयारी थालेका छन् र नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विधानको रक्षा गर्न विशेष महाधिवेशन अनिवार्य भएको तर्क अघि सारेका छन्।
यो गुटबन्दीका कारण कांग्रेस अहिले नियमित वा विशेष महाधिवेशनमध्ये कुन बाटो लिने भन्ने द्विविधामा परेको छ। यसअघि महामन्त्रीहरूकै दबाबमा पुस २६ गते नियमित महाधिवेशन तोकिएको थियो, तर तयारी अभावमा नेतृत्वले यसलाई वैशाखतिर सार्ने योजना बनाएको देखिन्छ।
सभापति शेरबहादुर देउवा निकट नेताहरू विशेष महाधिवेशनलाई पूरै अस्वीकार गर्ने मनस्थितिमा छन् भने इतर पक्षले विधानको धारा १७(२) अनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरलाई मुख्य हतियार बनाएर दबाब दिइरहेको छ। यसले पार्टीभित्रको तनावलाई थप जटिल बनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।