Bizshala
  • बुधबार, पुष ३०,२०८२ 01:31:14
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेस फूटको संघारमा: देउवाको आग्रह बेवास्ता गर्दै थापा-शर्मा अघि बढे

Hyundai Nepal
नेपाली कांग्रेस फूटको संघारमा: देउवाको आग्रह बेवास्ता गर्दै थापा-शर्मा अघि बढे
Shivam Cement

काठमाण्डौ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब फूटको नजिक पुगेको छ । पार्टीभित्रको नेतृत्व विवाद चरमोत्कर्षमा पुग्दा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको तनावले पार्टी विभाजनको खतरा बढाएको छ । 

विशेष महाधिवेशनमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरेसँगै दुवै पक्षबीच सहमतिको सम्भावना न्यून बन्दै गएको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार बिहान महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । यसअघि देउवाको निवास महाराजगन्जमा भएको एक घण्टाको वार्तामा सहमति हुन नसकेपछि थापा र शर्माले निर्वाचन प्रक्रियालाई तीव्रता दिएका छन् । वार्तामा महामन्त्रीद्वयले देउवालाई सभापति पदबाट राजीनामा दिई संरक्षकको भूमिकामा बस्न आग्रह गरेका थिए । उनीहरूले असोज २८ मा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएको निर्णय कार्यान्वयन गर्न माग गरेका थिए । तर देउवाले यसमा कुनै जवाफ नदिएपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

CG Motors
Bizshala
Garima Development Bank

वार्तापछि महामन्त्रीद्वय थापा र शर्माले "अब हामी निर्वाचन प्रक्रियामा गयौं" भन्दै महाधिवेशन स्थल फर्किएका छन् । उनीहरूले आफूनिकट नेता तथा कानुनविद्हरूसँग परामर्श गरिरहेका छन् । विशेष गरी प्रत्यक्ष निर्वाचनका उम्मेदवारको टिकटमा हस्ताक्षर अधिकारबारे निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल भइरहेको छ । देउवाले हस्ताक्षर अधिकार जुनसुकै नेतालाई दिन तयार रहेको बताए पनि महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्नुपर्ने जिकिर गरेका छन् ।

देउवाले वार्तामा भावुक हुँदै पार्टी नफुटाउन आग्रह गरेका थिए । "पार्टी फुट्नु हुँदैन, म उदार हुन तयार छु," भन्दै उनले वैशाखमा हुने महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सकिने बताएका थिए । तर महामन्त्रीद्वयले "नेतृत्व परिवर्तनले पार्टी फुट्दैन, यो विशेष महाधिवेशनको निर्णय हो" भन्दै देउवाको आग्रहलाई बेवास्ता गरे । वार्तामा कांग्रेस प्रवक्ता प्रकाशरण महत, रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली दिउँसो १ बजे सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार विद्युतीय मतदान हुने पदहरूमा भोटिङ हुने तयारी छ । यता, संस्थापन पक्षका नेताहरू पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकका लागि जुटिरहेका छन् । केन्द्रीय कार्यसमितिको बहुमतले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरे पनि थापा-शर्मा पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिएपछि विवाद बढेको छ ।

पार्टीभित्रको यो संकटले नेपाली कांग्रेसलाई फुटको संघारमा पुर्‍याएको विश्लेषकहरू बताउँछन् । पुस २७ देखि जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गरिसकेको छ, तर देउवा पक्षले यसलाई मान्यता नदिने अडान लिएपछि विभाजनको सम्भावना प्रबल बन्दै गएको छ । यसले विघटित संसदमा ठूलो दलको हैसियतमा रहेको कांग्रेसको राजनीतिक भविष्यलाई नै प्रभावित गर्न सक्ने देखिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.