काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले उक्त अवधिसम्ममा ३० करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख रुपैयाँबराबर रहेको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्म १२ करोड ५३ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ४५ करोड १३ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङ घटेको छ । अघिल्लो आवमा ३६ करोड ८३ लाख रहेको रिटेन्ड अर्निङ घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार पनि १ अर्ब ७० करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
ग्राहकहरुबाट ५४ अर्ब ३९ करेड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४४ अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफामा कमी आएको छ । अघिल्लो आवमा २५ करोड २५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता पनि १४.७२ प्रतिशतबाट घटेर ५.०७ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६९७.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.७८ गुणा र तरलता अनुपात २५.५० प्रतिशत कायम भएको छ ।

