काठमाण्डौ। विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा तीव्र उतार–चढाव देखिएको छ। पछिल्लो एक हप्तामै क्रिप्टो बजारको कुल मूल्य करिब ५०० अर्ब अमेरिकी डलरले घटेको छ। बजारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब २० प्रतिशतले घट्दै हाल ७० हजार डलरको आसपास झरेको छ।
बिहीबार बिटक्वाइन ७० हजार १२२ डलरमा कारोबार भइरहेको थियो। केवल एक दिनमै बिटक्वाइनको मूल्यमा ८ प्रतिशतभन्दा बढी गिरावट आएको छ।
बिटक्वाइनसँगै अन्य प्रमुख क्रिप्टोकरेन्सीहरु पनि दबाबमा देखिएका छन्। इथेरियमको मूल्य पछिल्लो २४ घण्टामा ७.८९ प्रतिशतले घटेर करिब २,०९१ डलर मा झरेको छ।
ठूला अल्टक्वाइनहरु बीएनबी,एक्सआरपी, सोलाना , ट्रोन , डजक्वाइन र कार्डानो सबैमा ६ प्रतिशतभन्दा बढी गिरावट आएको छ। यद्यपि, हाइपरलिक्वीड भने ०.५२ प्रतिशतको वृद्धि देखिएको छ।
क्वाइन मार्के६ क्यापका अनुसार, विश्वव्यापी क्रिप्टोकरेन्सी बजार पूँजीकरण ६.४७ प्रतिशतले घटेर २.४२ ट्रिलियन डलरमा सीमित भएको छ।
गिरावटको मुख्य कारण
विश्लेषककाअनुसार, बिटक्वाइनमा आएको गिरावट कुनै विशेष क्रिप्टोसम्बन्धी समस्याका कारण होइन। यो विश्वव्यापी बजारमा देखिएको ‘रिस्क–अफ’ प्रवृत्ति, अर्थात् लगानीकर्ताहरू जोखिमबाट टाढा रहन खोज्ने अवस्थाको परिणाम हो।
विश्वव्यापी इक्विटी बजार, विशेषगरी टेक्नोलोजी सेयरहरूको असर डिजिटल सम्पत्तिहरूमा पनि परेको छ। साथै, क्रिप्टो बजारमा अत्यधिक लेभरेज प्रयोग भएकाले मूल्य घट्दा फोर्स्ड लिक्वीडेसन बढेको र यसले गिरावटलाई अझ तीव्र बनाएको छ।
पछिल्लो हप्तामात्रै बिटक्वाइन र इथेरियमको मूल्य क्रमशः २०.२० प्रतिशत र २९.३२ प्रतिशतले घटेको थियो। प्रमुख अल्टक्वाइनहरूमा २६ प्रतिशतभन्दा बढी गिरावट देखिएको थियो भने हाइपरलिक्वीड ५.८७ प्रतिशतले बढेको थियो।

