काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणको मूल दायीत्व विपरीत काम गर्दै आएको भन्दै लगानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
सेयर बजारका लगानीकर्ताहरुका विभिन्नमध्येको एक संगठन नेपाल धितोपत्र लगानीकर्ता संघले माघ २७, २०८२(आज) एक विज्ञप्ति जारी गरी संस्थापक र साधारण सेयरका लागि दिइने डबल आईजीन सम्बन्धी व्यवस्था कार्यान्वयनमा समेत स्वार्थ समूहलाई फाइदा पुग्ने गरी काम गरेको भन्दै लगानीकर्ताहरुको मागअनुसार डबल आईजीन(संस्थापक र साधारण सेयरका लागि अलग अलग आईजीन)को व्यवस्था तत्काल लागू गर्न र यसमा गडबडी गरेमा कडा आन्दोलन थालिने चेतावनी दिएको हो ।
सो संगठनका महासचिव प्रकाश रजौरेले जारी गरेको विज्ञप्तिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा बोर्डका अन्य सञ्चालक सदस्यहरुले कुनै कारणबिना सिडिएस एण्ड क्लियरिङ लिमीटेडबाट डबल आईजीनको व्यवस्थाको सुझावसहित पेश भएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ विगत ७ महिनादेखि रोकेर राखिएको र यसमा चलखेल भएको देखिएको दाबीसहित यस्तो लगानीकर्ताविरोधी हर्कत बन्द गर्न चेतावनी दिइएको छ ।
संघले सो निर्देशिका ७ महिनादेखि अड्काएर राख्नुलाई ‘अत्यन्त शंकास्पद, गैरजिम्मेवार र भ्रष्टाचारजन्य कार्य’को संज्ञा दिएको छ ।
त्यसो त धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनका लागि करोडौं घूस बुझेको दाबीसहित यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय लगायतका निकायमा उजुरीहरु परिसकेका छन् । धितोपत्र बोर्डका अन्य कार्यहरुमा समेत गडबडी भएको भन्दै त्यहीका कर्मचारी अग्रसरतामा अर्को उजुरी पनि श्रेष्ठविरुद्ध त्यसअघि नै अख्तियारमा दर्ता भएको थियो । भ्रष्टाचारजन्य कार्य गरेको उजुरीहरुको चाङमाथि बसेका सेबोन अध्यक्ष श्रेष्ठले विवादास्पद काम गर्न भने छाडेका छैनन् । संघले पनि सोही प्रकृति(भ्रष्टाचारजन्य काम)को आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको हो ।
विज्ञप्तिमा पियोर इनर्जी लिमिटेडलगायत केही कम्पनीका संस्थापक लगानीकर्ताले सर्वसाधारण समूहकै आईजीनमा आफ्नो लक–इन अवधि नपुगेको सेयर मिसाउने प्रयास गर्दै आएको र त्यही समूहलाई लाभ पुग्ने गरी धितोपत्र बोर्डको नेतृत्वले काम गरेको आरोप लगाइएको छ । यसले सर्वसाधारण लगानीकर्ताको सेयर मूल्यमा कृत्रिम प्रभाव पारेको र बजारमा भ्रम सिर्जना गरेको संघको भनाइ छ।
प्रेस विज्ञप्तिमा भनिएको छ-‘संस्थापक सेयर बिक्री नगर्नुपर्ने अवधिमा पनि विभिन्न माध्यमबाट सेयर स्थानान्तरण हुने र बैंक कर्जाका लागि धितो राख्ने अभ्यासले सर्वसाधारण लगानीकर्ता प्रत्यक्ष रूपमा मारमा परेका छन्। यस्तो कार्यले पूँजी बजारलाई अस्थिर बनाउने मात्र होइन, लगानीकर्ताको विश्वाससमेत कमजोर बनाएको संघको ठहर छ।’
संघले डबल आईजीन प्रणाली प्रभावकारी रूपमा लागू गरेमा संस्थापक सेयरधनीले लकइन अवधि अघि नै सेयर बेचेर भाग्नेजस्ता गम्भीर समस्या समाधान हुने भन्दै सेबोन अध्यक्ष, बोर्ड सदस्यलाई तत्काल निर्देशिका कार्यान्वयन गर्न आग्रह गरेको छ। यदि सेबोनले तत्काल सुधार नगरेमा लगानीकर्ताको हित रक्षाका लागि संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने र अख्तियार लगायतका राज्यका निकायमा उजुरीहरु दर्ता गराउने चेतावनी समेत पनि विज्ञप्तिमा दिइएको छ ।
डबल आईजीन सम्बन्धी व्यवस्था कार्यान्वयनको विषयमा सिडिएससी प्रष्ट देखिए पनि उसले सिफारिस गरी पठाएको निर्देशिका धितोपत्र बोर्डले जानाजान रोकेर राखिदिएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सुरुवातमा डबल आईजीन लागू गर्ने पक्षमै थिए । तर, पछिल्लो समय भएको रातारातको खेलका कारण उनी समेत स्वार्थ समूहलाई लाभ पुग्ने गरी सिंगल आईजीनको पक्षमा यूटर्न भएका छन् । सेबोन अध्यक्षको दोहोरो चरित्रको लगानीकर्ताहरुबाट लगातार विरोध भए पनि तालुकदार मन्त्रालय(अर्थ मन्त्रालय)का अधिकारी समेत यो विषयमा मौन छन् । त्यति मात्र होइन, सेबोनका जिम्मेवार अधिकारीहरु पटक–पटक भ्रष्टाचारजन्य काममा संलग्नताको आरोपमा मुछिए पनि त्यो विषयमा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अँगाल्ने गफ दिने सुशीला कार्की नेतृत्वको सरकार समेत मौन देखिएको छ । धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठविरुद्ध केही उजुरीहरु सोझै प्रधानमन्त्री कार्यालयमा समेत दर्ता भएका छन्, तर त्यस विषयमा समेत कार्की नेतृत्वको सरकार मौन छ । यसलाई लगानीकर्ताले रहस्यमय भन्ने गरेका छन् ।
संघले जारी गरेको विज्ञप्ति यस्तो छः


