काठमाण्डौ । प्रविधिको विकाससँगै विगत केहि दशकदेखि पैसाको भण्डार,पहुँच र यसलाई खर्च गर्ने हाम्रो तौरतरिकामा आमूल परिवर्तन आएको छ । आधुनिक मानव इतिहासको सुरुवाति कालमा मुद्राहरु बहुमूल्य धातुका हुने गर्थे । त्यसपछि कागजी नोटको प्रचलनमा आयो । जसले मुद्राको अवधारणमा विश्वभर क्रान्ति नै ल्याईदियो ।
त्यसपछि क्रेडिट कार्डको थालनी भयो । जसले एउटा कार्डको प्रयोगले कारोबार गर्न मिल्ने सुविधा प्रदान गर्यो । अब भने हामी नयाँ युगमा प्रवेश गरेका छौं । जहा रिडर कन्ट्राक्टका लागि डाइरेक्ट कार्डको आवश्यकता पर्दैन । अहिले विश्वभर कन्ट्याक्टलेस कारोबारले चर्चा बटुलिरहेको छ । विश्वमा यसको प्रयोग बढ्दो क्रममा छ । कन्ट्याक्टलेस पेमेन्ट प्रणाली कार्ड वा मोबाइल एप वा डिजिटल वालेटबाट प्रयोग गर्न सकिन्छ ।
नेपालमा पनि कन्ट्याक्टलेस पेमेन्टको सुरुवात भईसकेको छ । आजभोलि बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रायजसो कार्डमा आवाजको संकेत भएको सानो चिन्ह देख्न सकिन्छ । यी कार्डले नियर फिल्ड कम्युनिकेशन प्रणाली(एनएफसी) प्रणालीबाट कार्य गर्छन । यस्ता कार्डबाट पीन नहाली यस्तो चिन्ह भएको पीऔएस मेशिनमा छोएर(ट्याप मात्रै गरेर) विना झन्झट सरल तरिकाले गर्न सकिने भुक्तानी नै कन्ट्याक्टलेस पेमेन्ट हो । यसलाई ट्याप टु पे वा ट्याप एण्ड पे पनि भन्ने गरिन्छ ।
नेपालमा हाल राष्ट्र बैंकले यसमार्फत प्रतिकारोबार अधिकतम ५ हजार रुपैयाँसम्म भुक्तनी गर्न सकिने व्यवस्था गरेको छ ।
किन राखिएको हो यस्तो सीमा ?
एनएफसी प्रविधिको प्रयोगले यस्तो भुक्तानी अत्यन्तै सहज भएको छ । तर पिनबीना नै कारोबार हुने भएकाले कार्डबाट हुन सक्ने अनाधिकृत कारोबारको जोखिम न्यूनीकरणको लागि यस्तो सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कार्डको दुरुपयोग रोक्न आफ्नो कार्ड आफैसँगै सुरक्षित राख्नुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ । यस्तो कार्डमा अनाधिकृत पहँच नदिन र प्रविधिको सही उपयोग गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।