काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नेपाल सम्भावनै सम्भावनाले भरिपूर्ण देश रहेको उल्लेख गर्दै व्यवसायी र जनताजस्तै इमानदार जनप्रतिनिधि रोज्न आह्वान गरेका छन् ।
जेनजी आन्दोलनपछि जलाएर पूर्ण ध्वस्त बनाइएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको पुननिर्मित स्टोरको समुद्घाटन समारोहमा सहभागी हुँदै अध्यक्ष गुरुङले नेपाली जनता इमानदार रहेका र उनीहरुले आफ्नो प्रतिनिधि पनि इमानदार नै रोज्नुपर्ने सुझाव दिएका हुन् ।
सञ्चारकर्मीहरुले सोधेको ‘आगामी निर्वाचनबाट को प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तर दिंदै उनले भने-'म कुनै पार्टीको मान्छे होइन । आगामी निर्वाचनबाट जो भए पनि इमानदार व्यक्ति प्रधानमन्त्री बनोस् । श्रमको सम्मान गर्ने, देशलाई प्रगतिमा लैजाने मान्छे नेतृत्वमा पुगोस् !'
उनले आफूले २०४१ सालमा श्रीमतिको गहना बेचेर ३५ हजारबाट सुरु गरेको व्यवसाय आज अरबौंको भएको र हजारौंले रोजगारी पाएको उल्लेख गर्दै नेपालमा गर्न खोज्नेका लागि सम्भावनै सम्भावना रहेको समेत दाबी गरे । उनले अगाडि भने-'हाम्रो देशमा जस्तो सम्भावना अरु कहीँ छैन । म खोटाङबाट आएको एएटा सामान्य गुरुङ र किसानको छोराले यति गर्नसक्छ भने अरुले किन नसक्ने ? २०४१ सालमा ३५ हजारको गहना बेचेर सुरु गरेको व्यवसाय आज अरबौं अरबको भएको छ । त्यसकारण सबैमा इच्छाशक्ति चाहिन्छ । सबैले यो स्पिरिटलाई फलो गरौं, अरुको सम्पत्ति किन जलाउने ? किन ? कसैलाई दान गर्यो भन्दैमा जलाउने ? हुम्लाजुम्लाका बच्चाहरुलाई डाक्टर बनाएको छु । अस्पताललाई करोडौं दान दिएको छु । राज्यलाई अरबौं कर तिरेको छु । हजारौंलाई रोजगारी दिएको छु । अनि यस्तो मान्छेलाई किन आक्रमण गरियो ? यो दुःखद छ, तर अब म त्यो तीतो विगत बिर्सिन्छु । नेपालीहरु खरानीबाट पनि उठ्नसक्छन् भनेर विश्वलाई देखाउनुछ ।'
"ममाथि किन आक्रमण भयो ? अझैसम्म मैले बुझ्न सकेको छैन । एउटा मान्छे जसले हजारौंलाई रोजगारी दिएको छ, अरबौंको कर दिन्छ प्रत्येक वर्ष । अरबौ दान दिन्छ । म कमाएर लानेवाला छैन । आउने पुस्तालाई बिऊ दिने हो, म मेरा सन्तानलाई अल्छी बनाउन सक्दिँन । तर बिडम्बना मैमाथि आक्रमण हुन्छ, किन ? मैले धेरै मेहेनत गरेर, इमानदारितापूर्वक काम गरेर परिवर्तन गरेँ । तर केही व्यक्तिलाई सायद यही कुरा पचेनछ ।"
उनले नेपाली व्यवसायी र निजी क्षेत्रको क्षमता विश्वलाई देखाउने उल्लेख गर्दै अगाडि भने-'देखाइदिनु पर्यो विश्वलाई हाम्रो क्षमता के हो भनेर । हामी अर्काको भारी मात्र बोक्ने मान्छे हो र ? गल्फमा गएर अरुको मात्र टावर ठड्याइदिने मान्छे मात्र हो र नेपाली ? हामी इमानदार छौं । इमानदारपूर्वक काम गरौं, देशमै धेरै ठूलो प्रगति गर्न सकिन्छ । तर, विगतमा जस्तो गरिखानेमाथि आक्रमणका घटना अब उप्रान्त कहिल्यै नहोस् ।'
उनले चुनावपछि बन्ने सरकारले निजी क्षेत्रलाई सुरक्षा दिनुपर्नेमा जोड दिए । 'निजी क्षेत्रलाई सुरक्षा दिनुपर्छ । देशको विकासमा ठूलो योगदान गर्ने क्षेत्र हो यो ।' मीनबहादुरले अगाडि थपे-'निजी क्षेत्रको सुरक्षाबिना देश प्रगतिमा जानसक्दैन । यो कुरा अब बन्ने सरकारहरुले बुझ्नुपर्छ ।'
महाराजगञ्जको भाटभटेनी स्टोर पुनः सुरुवात समारोहमा उनले भवन पुननिर्माणदेखि विभिन्न काममा खटिने कर्मचारी, कामदार, निर्माणकर्मी, सफाईकर्मी लगायत ९०० जनालाई खादा ओडाएर र दक्षिणासहितको खाम दिएर सम्मान समेत गरेका थिए । उनले आफूले काम गर्नेलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्तो गरेको समेत प्रष्ट्याए । 'देशमा श्रमको सम्मान छैन । श्रमको सम्मान नभई देशको उन्नति हुनेवाला छैन ।' उनले भने-'काम गर्नेलाई सम्मान गरौं भनेर मैले एउटा सन्देश दिन खोजेको हो । हरेक कामको सम्मान गर्नुपर्छ, देश आफैं माथि आउँछ। हामी सबैले सबै खालको श्रमलाई सम्मान गर्न सके १५ वर्षभित्र देशको कायापलट हुन्छ ।'
उनले आफूमाथि के कारण आक्रमण भयो र भाटभटेनीको १२ आउटलेट पूर्ण ध्वस्त बनाइयो तथा अन्यमा समेत लुटपाट गरी करिब १७ अर्बको क्षति गराइयो भन्ने कुरा अहिलेसम्म आफूले बुझ्न नसकेको समेत बताए । 'ममाथि किन आक्रमण भयो ? अझैसम्म मैले बुझ्न सकेको छैन । एउटा मान्छे जसले हजारौंलाई रोजगारी दिएको छ, अरबौंको कर दिन्छ प्रत्येक वर्ष । अरबौ दान दिन्छ । म कमाएर लानेवाला छैन । आउने पुस्तालाई बिऊ दिने हो, म मेरा सन्तानलाई अल्छी बनाउन सक्दिँन । तर बिडम्बना मैमाथि आक्रमण हुन्छ, किन ? मैले धेरै मेहेनत गरेर, इमानदारितापूर्वक काम गरेर परिवर्तन गरेँ । तर केही व्यक्तिलाई सायद यही कुरा पचेनछ । यो दुःखद भयो । यो भए पनि अब उप्रान्त यस्तो नहोस् ।'-उनले भने ।
उनले देश नबिग्रिएको र नबिग्रिने समेत दाबी गरे । 'देश बिग्रिएको छैन, बिग्रिनेवाला पनि छैन ।' उनले भने-'तपाई-हामी बिग्रिएको मान्छे पनि होइन । हाम्रा लागि जननी स्वर्गतुल्य छ । यसैलाई बनाउनुछ, सिँगार्नु छ ।'
मीनबहादुरका अनुसार ध्वस्त भएका संरचनामध्ये सुरुमा सेन्टर वेयरहाउस सञ्चालनमा ल्याइएको र गत माघ २४ गते कोटेश्वरको आउटलेट सञ्चालनमा ल्याइएको थियो । त्यसपछि तेश्रो स्टोरको रुपमा महाराजगञ्ज शाखा पुनः सञ्चालनमा आएको हो । बाँकी ध्वस्त आउटलेटहरुमा समेत पुननिर्माणको काम धमाधम भइरहेको र क्रमैसँग पुनः सञ्चालनमा ल्याइने योजना सुनाए ।

