काठमाण्डौ । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेसँग उक्त रकम धरौटी माग्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा आफूविरुद्धका आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका कारण अदालतले धरौटी माग गरेको जनाइएको छ।
चालिसेमाथि करिब ३ करोड ६८ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ। उनीविरुद्ध गत मंसिर २८ गते विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। चालिसे प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापति पनि हुन्।
अख्तियारका अनुसार गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका थिए। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।
अख्तियारको दाबी अनुसार चालिसेले करिब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेकोमा त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध स्रोतबाट आर्जन भएको देखिएको छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ अवैध आम्दानी भएको भन्दै त्यही रकमलाई बिगो कायम गरिएको छ।
मुद्दामा चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोराहरू सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
चालिसे २०७४ साल जेठदेखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट सांसद निर्वाचित भएका थिए।
अख्तियारले उनीमाथि सम्पत्ति विवरण बुझाउँदा वास्तविक विवरण नदेखाई लुकाएर झुट्टा विवरण पेश गरेको आरोप समेत लगाएको छ।

