मंगलवार, बैशाख ८,२०८३ 03:32:52
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 03:32:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?

Bizshala
सपथ लिन जाँदा बालेनले किन लगाए मृत्युको बाटो छेक्ने कवच ?
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले सांसदको शपथ ग्रहण गर्दा सामान्य नेपाली पोशाकलाई पनि विशेष बनाए । दौरा-सुरुवाल, कालो कोट र टोपीसँगै उनको देब्रे छातीमा एउटा रंगीन, चारकुने सानो प्रतीक झुलिरहेको थियो-सिलाम साक्मा ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो साधारण ब्याच वा डेकोरेसन होइन । यो लिम्बू (याक्थुङ) समुदायको गहिरो सांस्कृतिक र आध्यात्मिक प्रतीक हो, जसलाई परम्परागत रूपमा मृत्युको बाटो छेक्ने सुरक्षा कवच मानिन्छ । लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हुन्छ । अर्थात्, सिलाम साक्मा भनेको कालको बाटो रोक्ने प्राचीन मन्त्र हो ।

यो प्रतीक सुरुमा घुङरिङ बाँसबाट बनाइन्थ्यो । अहिले भने रंगीन धागोबाट बुनेर तयार पारिन्छ-कालो, निलो, रातो, पहेँलो, हरियो, सेतो, खैरो जस्ता आठ रङहरू प्रयोग गरेर । मुन्धुमका जानकारहरूका अनुसार यी आठ रङ सौर्यमण्डलका आठ ग्रह (बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण) को प्रतीक हुन् ।

लिम्बू संस्कृतिमा विश्वास छ-देब्रे छातीमा सिलाम साक्मा लगाउँदा अकाल मृत्युबाट जोगिन्छ, घरमा राख्दा प्राकृतिक विपत्तिबाट बचिन्छ । मुटु नै जीवनको संकेत भएकाले यसलाई मुटुको नजिकै लगाउने प्रचलन छ ।

कसरी जोडियो बालेनसँग ?

यो सिलाम साक्मासँग बालेनको सम्बन्ध पुरानो छ । सन् २०७९ मा धरानका मेयर हर्क साम्पाङले काठमाडौं आएर बालेनलाई पहिलोपटक यो प्रतीक लगाइदिएका थिए । त्यसपछि दुई स्वतन्त्र मेयरबीच राम्रो मित्रता बढ्यो, जुन पछि अलिकति चिसिन पुग्यो । संयोगले यो पटक दुवै फरक पार्टीबाट सांसद बनेका छन्- बालेन रास्वपाबाट, हर्क श्रम संस्कृति पार्टीबाट । शपथको दिन हर्कलगायत केही सांसदले पनि सिलाम साक्मा लगाएका थिए ।

CG Motors
Garima Development Bank
IME remit

एउटा पुरानो दन्त्यकथा

इतिहासविद् राजेन्द्रकुमार जबेगूका अनुसार यो प्रतीकको सुरुवात छैटौं शताब्दीअघिको एउटा महामारीसँग जोडिएको छ । एउटा गाउँमा भयानक महामारी फैलियो । धेरै मानिस मरे । एउटा दम्पतीले आफ्नो वंश नै सकिने डरले मुन्धुमी गुरुको शरण लिए । गुरुको निर्देशनअनुसार फेन्जिरी फेन्दसाम्ब र उनका चेलाले दुई डन्डी जोडेर, धागोले नौ फन्को बाँधेर सिलाम साक्मा बनाए । चुलोमा मुन्धुमको मन्त्र जपेर गाडिदिएपछि महामारी रोकियो । त्यसपछि यो मृत्यु रोक्ने र शुभ कार्यमा प्रयोग हुने पवित्र वस्तु बन्न पुग्यो ।

अहिले यो कोशी प्रदेशका लिम्बू बाहुल्य क्षेत्रमा मात्र होइन, काठमाडौं, बेलायत, अमेरिका, हङकङ जस्ता ठाउँमा पनि लोकप्रिय छ । सार्वजनिक कार्यक्रममा अतिथिलाई खदा वा ब्याचको साटो सिलाम साक्मा लगाएर सम्मान दिन थालिएको छ।

बालेनले शपथको औपचारिक दिनमा यो सांस्कृतिक प्रतीक छातीमा सजाएर एउटा सन्देश दिएका छन्-संस्कृति र विविधतालाई सम्मान गर्दै नयाँ राजनीतिक यात्रा । जसरी सिलाम साक्माले मृत्युलाई छेक्छ, त्यसरी नै देशलाई चुनौतीबाट जोगाउने उनको प्रतिबद्धता पनि झल्किएको छ ।

यो सानो रंगीन प्रतीकले संसद भवनमा एउटा फरक रङ थपिदिएको छ-जसले परम्परा र आधुनिकताको सुन्दर मिश्रण देखाउँछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.