काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि आवश्यक सेवा तथा सुरक्षा पाउन नसेको बताएका छन् । बुधबार काठमाण्डौमा आयोजित महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ ।’ उनले भने ।
उद्योगी व्यवसायीहरुले ठूलो मेहतन गरेर सुरु गरेको व्यवसाय सरकारको नीतिले गर्दा धरासायी हुने गरेको अध्यक्ष ढकाले बताए । ढकाले भने,‘ ठूलो मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।
तर यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु ।’
देशको वर्तमान आर्थिक अवस्था बारे ढकाले भने,‘अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरुमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैया छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाको निर्यात हुँदा ८० अर्ब रुपैया त विद्यार्थीहरु विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।’
ढकाले आन्तरिक स्रोत बढाउन नसके अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना रहेको औल्याए । ‘निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ । विगतमा बढदो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजश्व पनि बढेको थियो । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।’ उनले भने ।
ढकाले नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख रहेको बताए । उनले कुनै समयका द्धन्दग्रस्त र निक्कै गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत रहेको तर नेपालको भने औसत ४ प्रतिशत मात्रै रहेको बताए । पछिल्लो २ वर्षमा न्यून आर्थिक वृद्धि हुनुमा निजी क्षेत्रले काम गर्ने वातावरण नपाउनु मुख्य कारण रहेको उनले दाबी गरे ।