काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणलाई लिएर नेपाली कांग्रेसले स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिनको माग गरेको छ। पार्टीले उक्त घटनाले सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग सम्बन्धित गम्भीर प्रश्न उठाएको जनाएको छ।
नेपाली कांग्रेसद्वारा जारी वक्तव्यमा सम्बन्धित सबै आरोपहरूको तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख गरिएको छ। पार्टीले पदमै रहेका व्यक्तिमाथि अनुसन्धान हुँदा प्रभाव पर्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै अनुसन्धानलाई पूर्ण रूपमा प्रभावमुक्त बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
वक्तव्यमा भनिएको छ, ‘सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ।’
साथै, यस विषयमा ढिलासुस्ती, प्रभाव वा ढाकछोप गर्ने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी समेत दिइएको छ।
नेपाली कांग्रेसले आफू सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढ रूपमा उभिँदै आएको र भविष्यमा पनि त्यही अडान कायम रहने स्पष्ट पारेको छ।

