काठमाडौं । भदौ २३–२४ का घटनाको छानबिन गर्न गठित न्यायिक आयोगकै अध्यक्ष गौरीबहादुर कार्की माथि अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिसको छ ।
आयोगले कार्कीका सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि र आन्दोलनताकाको भूमिकाले प्रदर्शनकारीलाई थप उत्तेजित बनाएको थियो कि भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो ।
साथै घटनाका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसँग उनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध थियो कि भन्ने विषय पनि अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ ।
जेनजी आन्दोलनका बेला गौरीबहादुर कार्की ले सामाजिक सञ्जालमार्फत विवादास्पद र भड्काउ अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।
त्यही विवादकाबीच सरकारले उनैलाई न्यायिक छानबिन आयोगको नेतृत्व दिएको निर्णयमाथि सुरुदेखि नै प्रश्न उठेको थियो ।
कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनामाथि केन्द्रित भएर मात्रै प्रतिवेदन बुझाएको थियो ।
तर, विपक्षी दल र नागरिक स्तरबाट उक्त प्रतिवेदनलाई एकपक्षीय र निष्पक्षता गुमाएको भन्दै आलोचना हुँदै आएको छ ।

