काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मुलुकमा नयाँ व्यापारिक फर्म दर्ता हुने क्रम बढेको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ हजार २ सय ७८ नयाँ व्यापारिक फर्म दर्ता भएका छन् भने २०९ फर्म खारेज भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ हजार १ सय ४१ नयाँ फर्म दर्ता हुँदा ३८१ फर्म खारेज भएका थिए।
यस तथ्यांकले मुलुकमा व्यवसायिक गतिविधि विस्तार हुँदै गएको तथा फर्म खारेजीको दर घट्दै गएको संकेत गरेको छ।
खाद्य सुरक्षातर्फ सरकारको मौज्दात अवस्था पनि सन्तोषजनक देखिएको छ। सर्वेक्षणअनुसार राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा १९ हजार ६ सय ५२ मेट्रिक टन तथा सार्क खाद्य सुरक्षा बैंकमा ८ हजार मेट्रिक टन गरी कुल २७ हजार ६ सय ५२ मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ।
त्यस्तै, दुर्गम जिल्ला तथा स्थानमा ढुवानी अनुदानअन्तर्गत चामल आपूर्ति भने घटेको देखिएको छ। गत आर्थिक वर्ष २९ हजार ८ सय १६ मेट्रिक टन चामल ढुवानी गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ६ सय ८१ मेट्रिक टन मात्रै ढुवानी भएको उल्लेख छ।
कर्णाली प्रदेशमा जन्म तथा मरण संस्कारका लागि खाद्यान्न वितरण कार्यक्रम पनि जारी रहेको छ। उक्त कार्यक्रमअन्तर्गत जन्म र मरण कार्यमा ३०÷३० किलो खाद्यान्न वितरण हुँदै आएको छ। गत आर्थिक वर्ष ९९.६ मेट्रिक टन खाद्यान्न वितरण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ६७.३ मेट्रिक टन खाद्यान्न वितरण गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।