काठमाण्डौं । मनसुन शुरु भएसँगै अरुण नदीमा पानीको बहाव बढ्दा सङ्खुवासभा र भोजपुर जोड्ने सतिघाट फेरी सेवा बन्द भएको छ ।
तर, यो केवल एउटा फेरी रोकिनुको घटना मात्र होइन, यसले पूर्वी पहाडी क्षेत्रको दशकौँ पुरानो पूर्वाधार अभाव र राज्यको सुस्त विकास मोडललाई फेरि उजागर गरिदिएको छ ।
खाँदबारी नगरपालिका–९ को सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने फेरी सेवा करिब एक सातादेखि पूर्ण रूपमा बन्द छ ।
वर्षासँगै नदीमा जलस्तर बढ्नु, तीव्र बहाव आउनु र नदी धमिलो बन्नुले फेरी सञ्चालन जोखिमपूर्ण बनेपछि सेवा रोकिएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय तहका अनुसार सतिघाट फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने सबैभन्दा महत्वपूर्ण यातायात माध्यम हो ।
विशेषगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले खाद्यान्न, निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु तथा बिरामी ओसारपसारसम्मका लागि यही मार्ग प्रयोग गर्दै आएका छन् ।
फेरी बन्द भएसँगै अहिले स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ ।
सवारी साधन पूर्ण रूपमा रोकिएका छन् भने सामान बोकेर झोलुङ्गे पुल हुँदै वारपार गर्नुपर्ने बाध्यता बढेको छ ।
स्थानीय रबिन तामाङका अनुसार वर्षा शुरु भएसँगै हरेक वर्ष यही समस्या दोहोरिन्छ ।
“सडक बन्यो, गाडी आयो, तर नदीमा पुल छैन । फेरी बन्द भएपछि फेरि हामी पुरानै दुःखमा फर्किन्छौं,” उनले भने ।
अरुण नदीमा स्थायी पुल नहुँदा उत्तरी भोजपुर र आसपासका क्षेत्र वर्षौंदेखि मौसमी यातायात संकट झेल्दै आएका छन् ।
सडक सञ्जाल विस्तार भएपनि नदी पार गर्ने स्थायी संरचना नहुँदा विकासको प्रत्यक्ष लाभ स्थानीयसम्म पुग्न नसकेको गुनासो बढ्दो छ ।
वास्तवमा सतिघाट फेरी आफैंमा एउटा “अस्थायी समाधान” मात्रै थियो ।
२०७६ सालमा संघीय र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष तथा स्थानीय तहको संयुक्त लगानीमा फेरी सञ्चालनमा ल्याइएको थियो ।
नगरपालिकाका अनुसार संघीय र प्रदेश कोषबाट जनही ७५ लाख रुपैयाँ तथा षडानन्द नगरपालिकाबाट ५५ लाख रुपैयाँ लगानी गरिएको थियो ।
तर पाँच वर्ष बितिसक्दा पनि स्थायी पुल निर्माणतर्फ ठोस प्रगति हुन नसक्दा स्थानीयमा निराशा बढेको छ ।
फेरी वर्षमा ६ देखि ८ महिना मात्रै सञ्चालन हुन सक्ने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।
बर्खा लागेपछि सेवा पटक–पटक बन्द हुने र जनजीवन प्रभावित हुने समस्या नियमितजस्तै बनेको छ ।
स्थानीयका अनुसार फेरी सञ्चालन हुँदा दैनिक १०० भन्दा बढी साना तथा ठूला सवारीसाधन वारपार गर्ने गरेका थिए ।
अहिले ती सबै गतिविधि ठप्पजस्तै बनेका छन् ।
षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले फेरीले तत्काल राहत दिएको भएपनि दीर्घकालीन समाधान भने पक्की पुल नै भएको बताएका छन् ।
उनका अनुसार सतिघाटमा स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।
तर, स्थानीयवासी भने “पहल” र “प्रतिबद्धता” को भाषण धेरै सुने पनि व्यवहारमा काम नदेखिएको भन्दै आक्रोशित छन् ।
विश्लेषकहरूका अनुसार पूर्वी पहाडी क्षेत्रमा सडक विस्तार तीव्र गतिमा भए पनि नदीमाथिका पुल, वैकल्पिक यातायात र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा राज्यको प्राथमिकता कमजोर देखिएको छ ।
यही कारण वर्षा सुरु हुनासाथ धेरै क्षेत्र पुनः “अर्ध–विच्छेद” को अवस्थामा पुग्ने गरेका छन् ।
सतिघाट फेरी बन्द हुनु अहिले एउटा स्थानीय समाचार मात्र होइन, यो नेपालका दुर्गम क्षेत्र अझै पनि मौसमी पूर्वाधार र अस्थायी समाधानकै भरमा बाँचेका छन् भन्ने यथार्थको प्रतीक बनेको छ ।

