काठमाण्डौ । युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका छन् । दुवै संस्थाको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेका हुन् ।
दुवै संस्थाले आगामी असार १० गते आ–आफ्नो केन्द्रीय कार्यालयमा सभा डाकेका हुन् ।
सभामा युनिक नेपाल लघुवित्त, जीवन विकास लघुवित्त र मानुषी लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, यस सम्बन्धमा हालसम्म भएका काम कारवाही, खर्च र लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सेयर स्वाप रेसियोसहित यस सम्बन्धमा सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ ।
यस्तै तीनवटै लघुवित्त एक आपसमा गाभ्ने प्रयोजनका लागि थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
दुवै संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाहरुको विशेष साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

