काठमाण्डौ । संसद भित्रको राजनीतिक गतिरोध र दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
बिहान ११ बजे निर्धारित समयमा शुरु हुन नसकेको हो ।
निरन्तरको अवरोधले कार्यसूचीमा रहको बजेटमाथिको सैदान्तिक छलफल पनि हुन सकेको छैन ।
लगातारको अवरोधका कारण कार्यसूची अघि बढ्न नसकेको र सत्तापक्ष–विपक्षबीचको असमझदारीले समाधान निकाल्न कठिन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले तत्काल बैठक सञ्चालन नगरी राजनीतिक सहमतिमार्फत निकास खोज्ने प्रयास गरेका छन् ।
संसद् सचिवालयका अनुसार सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विपक्षी दलहरूसँग निरन्तर छलफलमा छन् ।
विवादको मुख्य कारण नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको प्रतिनिधिसभामा दिएको अभिव्यक्ति हो ।
विपक्षी दलहरूले त्यसलाई विवादास्पद भन्दै प्रधानमन्त्रीको स्पष्टिकरण र संसदीय अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन् ।
सत्तापक्षले भने उक्त अभिव्यक्तिलाई राजनीतिक सन्दर्भमा बुझ्नुपर्ने र संसद् अवरुद्ध गर्नु समाधान नभएको तर्क गर्दै आएको छ ।
यसैबीच, राजनीतिक विश्लेषकहरूले यो घटनालाई सरकार–प्रतिपक्षबीचको अविश्वास र संसदीय अभ्यासमा देखिएको संकटको संकेतका रूपमा व्याख्या गरेका छन् ।
लगातारको अवरोधले विधायन प्रक्रिया र जनसरोकारका मुद्दा प्रभावित हुने जोखिम बढेको उनीहरूको टिप्पणी छ ।

