काठमाण्डौ। बर्दियामा नक्कली सरकारी कार्यालय खडा गरी ठगी गरेको पाइएको छ । प्रहरीले नक्कली सरकारी कार्यालय खडा गरी ठगी कार्यमा संलग्न रहेको भन्दै बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र कृपा चौधरीलाई पक्राउ गरेको छ ।
दुवैजना नाताले श्रीमान श्रीमती हुन् । उनीहरुलाई जेठ २० गते पक्राउ गरिएको हो ।
प्रहरीका उनीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहाको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली सरकारी कार्यालय सञ्चालन गरेर आम सर्वसाधारणलाई भ्रममा राख्दै ठग्दै आईरहेका थिए । उनीहरुले नक्कली कार्यालयको साइनबोर्ड, लेटरप्याड र छाप समेत बनाएको पाइएको छ ।
उक्त कार्यालय खडा गरी उनीहरुले स्थानीयलाई जागिर दिाईदिने आश्वासन दिदै ठग्ने गरेका थिए ।
दाङको लमहीमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत मा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । सोही कार्यालयको नामसँग मिल्ने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।
उनीहरुले एउटा घर भाडामा लिएर उक्त कार्यालय सञ्चालन गरिरहेका थिए । उक्त घरका घरधनीपनि उनीहरुबाट प्रताडित बनेको तथ्य समेत खुलेको छ । उनीहरुले घरधनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप लागेको छ ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

