काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नेतृत्व चयनमा पराजित भएकी गोमा तामाङ (सरिन)ले सक्रिय राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेकी छन्।
रास्वपाको पहिलो कोशी प्रदेश अधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेकी तामाङ पराजित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्रा अन्त्य गर्ने निर्णय सार्वजनिक गरेकी हुन्।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै उनले फेसबुकमा मतदाताप्रति आभार व्यक्त गर्दै अब राजनीतिमा सक्रिय नरहने संकेत दिएकी छन्।
अधिवेशनमा सभापति पदमा चन्द्र राई २८० मतसहित विजयी भए। तामाङले १४१ मत प्राप्त गरिन् भने अन्य उम्मेदवार खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत पाए।
कुल ७०२ मत खसेको निर्वाचनमा तामाङलाई पार्टीभित्र प्रभावशाली महिला नेतृका रूपमा हेरिँदै आएको थियो।
उनको राजनीतिबाट अलग हुने घोषणालाई रास्वपाभित्र चासोका साथ हेरिएको छ।
तामाङ यसअघि कोशी प्रदेशकी कार्यवाहक सभापतिको जिम्मेवारीमा थिइन्।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले सुनसरी–१ बाट उम्मेदवारी दिएकी थिइन्, जहाँ उनी हर्क साम्पाङसँग पराजित भएकी थिइन्।

