काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ७२.२२ प्रतिशत अर्थात् १२ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी कर्जा बागमती प्रदेशमा केन्द्रित रहेको छ।
२०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा कुल १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७।९९ प्रतिशतले बढी हो।
प्रदेशगत रूपमा कोशीमा ९.२२ प्रतिशत, लुम्बिनीमा ७.९१ प्रतिशत, मधेसमा ७.२२ प्रतिशत, गण्डकीमा १.६२ प्रतिशत, सुदूरपश्चिममा १.५५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ०.२५ प्रतिशत कर्जा प्रवाह भएको छ।
औद्योगिक कर्जामध्ये गैर–खाद्य उत्पादन क्षेत्रले ३५.६७ प्रतिशत हिस्सा ओगटेको छ भने विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत कर्जा लगानी भएको छ।
चालू आर्थिक वर्षको पहिलो छ महिनामा देशभर ४६१ नयाँ उद्योग दर्ता भएका छन्।
तीमध्ये ३६३ उद्योग बागमती प्रदेशमा दर्ता भएका छन् भने सुदूरपश्चिममा मात्र चार उद्योग थपिएका छन्।
नयाँ उद्योगमा ५५ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव भएको छ, जसबाट करिब २२ हजार ८८५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
यता राष्ट्र बैंकको सर्वेक्षणअनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशतमा सीमित रहेको छ।
गार्मेन्ट उद्योगले सबैभन्दा बढी ९५.७४ प्रतिशत क्षमता उपयोग गरेको छ भने लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग सबैभन्दा बढी ५०.४४ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ३०.८२ प्रतिशत रहेको छ।
तथ्यांकले औद्योगिक कर्जा, लगानी र उद्योग दर्ता मुख्यतः बागमती प्रदेशमा केन्द्रित रहेको देखाउँदा अन्य प्रदेशमा औद्योगिक विस्तार र लगानी प्रवाह अझै कमजोर रहेको संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।