काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मुलुकको पेट्रोलियम पदार्थ आयात निर्यात आम्दानीभन्दा बढी देखिएको छ। भन्सार विभागका अनुसार यस अवधिमा मुलुकको निर्यात २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने पेट्रोलियम पदार्थको आयात मात्रै २ खर्ब ९७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बराबर भएको छ। यसरी पेट्रोलियम आयात निर्यातभन्दा करिब २० अर्ब रुपैयाँ बढी देखिएको छ।
विभागका अनुसार पेट्रोलियम आयातमा डिजेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। ११ महिनामा १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भई करिब १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र युद्धजन्य परिस्थितिका कारण मूल्य बढे पनि परिमाण भने केही घटेको तथ्याङ्कले देखाउँछ।
त्यसैगरी सोही अवधिमा ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको छ, जसका लागि करिब ६८ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ। पेट्रोलको परिमाण गत वर्षको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।
हवाई इन्धनतर्फ १ लाख ९४ हजार ५०० किलोलिटर आयात हुँदा १७ अर्ब ४९ करोड रुपैयाँ बराबर खर्च भएको छ। यस्तै, मटितेल आयात भने उल्लेख्य रूपमा घटेर ६ हजार ७९३ किलोलिटरमा सीमित भएको छ।
एलपी ग्यासतर्फ ४ लाख ७५ हजार ९८० मेट्रिक टन आयात हुँदा ५२ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ। विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा ग्यास खपतमा केही कमी आएको देखिन्छ।

