काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विभिन्न सरुवा, नियुक्ति तथा नीतिगत एवं कानस्नी निर्णयहरू गरेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ। त्यस्तै, कमैया श्रम निषेध सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ।
साथै, राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत भएको छ।
यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरिएको छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
त्यस्तै, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरिएको छ।

