काठमाण्डौ । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेलुकी ५ बजे बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्ति सिफारिस गर्ने विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस संसदीय दलका नेता भीमराज आङ्देम्बेले जानकारी दिए।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्। राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य पद खाली छ भने मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्।
त्यस्तै, राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद, थारू आयोगमा अध्यक्षसहित दुई पद र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद खाली छन् भने महिला आयोगमा एक सदस्य पद रिक्त रहेको छ।
लामो समयदेखि संवैधानिक निकायका पद रिक्त रहँदा ती निकायहरूको कामकारबाही प्रभावित हुँदै आएको छ। आजको बैठकले रिक्त पदमा नियुक्ति सिफारिसका लागि ठोस निर्णय लिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।