काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटसम्बन्धी विधेयकमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ।
आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका बजेट शीर्षकहरूमाथि समूहगत छलफल गर्ने समय निर्धारण गरेको हो। छलफलका क्रममा उठ्ने प्रश्न तथा जिज्ञासाको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची तय गरिएको छ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरका अनुसार आठौं अधिवेशनको १३ औं बैठक सोमबार बिहान ८ बजे बस्नेछ। उक्त बैठकमा बजेटसँग सम्बन्धित मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल अघि बढाइनेछ।
यसअघि आइतबारको १२ औं बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको थियो। सो छलफलमा सत्ता पक्ष तथा प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु. ३७ अर्ब ३८ करोड ४५ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। उक्त बजेटमध्ये पूँजीगततर्फ रु. २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार र चालुतर्फ रु. ११ अर्ब ११ करोड २७ लाख १० हजार विनियोजन गरिएको छ।

