सोमबार, श्रावण १८,२०८३ 04:49:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:49:15
Bizshala
Global IME Bank Limited

एडीबी अध्यक्ष काठमाडौंमा : बालेन सरकारको पहिलो उच्चस्तरीय विदेशी भेट, दुई ठूला सहयोग सम्झौता हुने

एडीबी अध्यक्ष काठमाडौंमा : बालेन सरकारको पहिलो उच्चस्तरीय विदेशी भेट, दुई ठूला सहयोग सम्झौता हुने
New Office

काठमाण्डौ  । एसियाली विकास बैंक(एडीबी) का अध्यक्ष मासातो कान्दा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति करिब १० बजे काठमाडौं ओर्लिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरे ।

सोमबार र मंगलबार नेपालमा रहने कान्दाको भ्रमणलाई नयाँ सरकार गठनपछिको महत्वपूर्ण कूटनीतिक तथा विकास साझेदारी भेटका रूपमा हेरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक कुनै विदेशी उच्च अधिकारीसँग व्यक्तिगत औपचारिक भेट गर्न लागेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्दाबीच मंगलबार भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञ तथा अधिकारीहरूसँगको भेटमा संयमित र संस्थागत शैली अपनाउँदै आएका थिए । त्यसैले एडीबी अध्यक्षसँग हुने यो भेटलाई बालेन सरकारको कूटनीतिक प्राथमिकता र विकास साझेदारसँगको सम्बन्धको नयाँ संकेतका रूपमा अर्थ्याइएको छ ।

कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अर्थमन्त्री वाग्लेसँग उनको भेट दिउँसो ३ बजे तय भएको स्रोतले जनाएको छ । भ्रमणका क्रममा कान्दाले एडीबीको सहयोगमा निर्माण भइरहेका विभिन्न विकास परियोजनाको अवलोकनसमेत गर्नेछन् ।

कान्दाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन सुधार र खानेपानी तथा ढल निकास व्यवस्थापनसँग सम्बन्धित दुई सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी छ । भन्सार आधुनिकीकरण, व्यापार सहजीकरण र रोजगारी सिर्जनालाई सहयोग पुर्‍याउने उद्देश्यसहित ५० मिलियन अमेरिकी डलरको नीतिगत ऋण सम्झौता अघि बढ्नेछ । त्यसैगरी, सहरी खानेपानी, ढल निकास, फोहोरमैला तथा जलवायु–उत्थानशील पूर्वाधारसँग सम्बन्धित ११५ मिलियन डलरको परियोजना सम्झौतासमेत हुने अपेक्षा गरिएको छ ।

नेपाल एडीबीको संस्थापक सदस्य हो । सन् १९६६ मा एडीबी स्थापना हुँदा नेपाल यसको सदस्य बनेको थियो भने सन् १९६८ देखि नेपालले एडीबीबाट प्राविधिक सहायता लिन थालेको हो । त्यसयता एडीबी नेपालको प्रमुख विकास साझेदारका रूपमा सडक, ऊर्जा, खानेपानी, सहरी विकास, शिक्षा, कृषि, वित्तीय सुधार र संस्थागत क्षमता विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ ।

नेपाल आउनुअघि एडीबी अध्यक्ष कान्दाले नेपाल अहिले निर्णायक मोडमा रहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपालले पटक–पटक संकट र परिवर्तनका घडीमा असाधारण उत्थानशीलता देखाएको उल्लेख गर्दै एडीबीले त्यसलाई दीर्घकालीन आर्थिक प्रगतिमा रूपान्तरण गर्न सहयोग गर्ने बताएका छन् ।

उनले नयाँ सरकारले आफ्ना प्राथमिकता तय गरिरहेका बेला एडीबीले नेपालसँगको छ दशकभन्दा लामो साझेदारीको अनुभवका आधारमा अबको विकास अध्यायमा कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सुन्ने, सिक्ने र छलफल गर्ने अवसरका रूपमा भ्रमणलाई लिएको उल्लेख गरेका छन् ।

१० वर्षअघि सन् २०१६ मा तत्कालीन एडीबी अध्यक्ष ताकेहितो नाकाओले नेपाल भ्रमण गरेका थिए । त्यसपछि नेपाल भ्रमण गर्ने कान्दा पहिलो एडीबी अध्यक्ष हुन् । त्यसैले उनको भ्रमण केवल औपचारिक सद्भाव भ्रमण मात्र नभई बालेन सरकार, अर्थतन्त्रको प्राथमिकता र विकास साझेदारबीचको विश्वास परीक्षणको अवसर पनि बनेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.