Bizshala
  • मंगलवार, असार २३,२०८३ 10:28:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सात मिनेटसम्म ‘मृत’ रहेका फुटबलरले प्रशिक्षक बनेर विश्वकपमा ब्राजिलको सपना चकनाचुर पारे

Laxmi Sunrise Bank Limited
सात मिनेटसम्म ‘मृत’ रहेका फुटबलरले प्रशिक्षक बनेर विश्वकपमा ब्राजिलको सपना चकनाचुर पारे

काठमाण्डौ । ‘मेरी आमा मेरो अन्त्येष्टिको तयारी गरिरहनुभएको थियो ’ यी शब्दहरू त्यही व्यक्तिका हुन्, जो आज जीवित छन् र जसले हालै इतिहास रचेका छन्। उनको नाम हो स्टोल सोलबक्केन।

५८ वर्षीय सोलबक्केन नर्वे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हुन्। अमेरिकामा आयोजना भइरहेको फुटबल विश्वकपमा उनको टोलीले आइतबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई रोमाञ्चक खेलमा पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेर गरेको थियो।

खेल समाप्त भएपछि सोलबक्केन आफ्नो परिवारसँग भावुक रूपमा अँगालोमा बाँधिए। यसको कारण पनि विशेष थियो। करिब २५ वर्षअघि, १३ मार्च २००१ मा उनको मुटुको धड्कन सात मिनेटसम्म बन्द भएको थियो।

उनी २६ घण्टासम्म कोमामा समेत रहेका थिए। इटालियन अखबार ‘ला गाजेटा डेलो स्पोर्ट’सँगको कुराकानीमा उनले भनेका थिए, ‘मेरी आमा म भएको ठाउँमा आउँदै गर्दा मेरो वास्तविक अवस्थाबारे उहाँलाई थाहा थिएन। बाटोभरि उहाँ मेरो अन्त्येष्टि कसरी गर्ने भनेर सोचिरहनुभएको थियो।’

तर सोलबक्केनले मृत्युलाई पराजित गरे र पछि नर्वेको दशकौँयताकै सबैभन्दा प्रतिभाशाली फुटबल पुस्ताको नेतृत्व गरे। उनको टोलीमा मार्टिन ओडेगार्ड (आर्सनल), अलेक्जेन्डर सोरलोथ(एट्लेटिको म्याड्रिड) र सबैभन्दा ठूला स्टार एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी) जस्ता खेलाडीहरू छन्।

ब्राजिलविरुद्धको खेलमा हालान्डले दुई गोल गरे। यस विश्वकपमा उनले हालसम्म सात गोल गरिसकेका छन्, जुन लियोनेल मेसी र किलियन एम्बाप्पेको बराबर हो।

ब्राजिलमाथिको जितपछि सोलबक्केनले भने, ‘यो नर्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो दिन हो।’ तर उनको असाधारण यात्राको सुरुवात पनि ब्राजिलसँग जोडिएको अर्को ऐतिहासिक जितबाट भएको थियो।

New Office
CG Motors
Garima Development Bank

मिडफिल्डरको रूपमा यात्रा

सन् १९९० को दशकमा स्टोल सोलबक्केन नर्वेका प्रमुख मिडफिल्डरमध्ये एक थिए। त्यही समयमा टोरे आन्द्रे फ्लो र ओले गुनार सोल्स्क्यारजस्ता खेलाडीहरूसँग मिलेर नर्वेले लगातार दुईवटा विश्वकप (१९९४ र १९९८) का लागि छनोट हुन सफल भएको थियो।

१९९८ को विश्वकपमा सोलबक्केन त्यही टोलीका सदस्य थिए, जसले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गरेको थियो।

त्यो जितको कारण नर्वे पहिलो पटक विश्वकपको प्रि–क्वार्टरफाइनलमा पुगेको थियो। यद्यपि पछि टोली इटालीसँग पराजित भयो।

त्यतिबेला यो उपलब्धि नर्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता मानिन्थ्यो। सन् २००० मा ३३ वर्षको उमेरमा सोलबक्केन डेनमार्कको क्लब एफसी कोपेनहेगनसँग आबद्ध भए।

१३ मार्च २००१ मा प्रशिक्षणका क्रममा उनलाई अचानक हृदयघात भयो र उनी मैदानमै ढले।  टोलीका चिकित्सक फ्रान्क ओडगार्डले तत्काल प्राथमिक उपचार सुरु गरे र एम्बुलेन्स बोलाए।

सात मिनेटसम्म उनको मुटुले काम गर्न छोडेको थियो र चिकित्सकीय रूपमा उनलाई मृत घोषित गरिएको थियो। अस्पताल लैजाने क्रममा चिकित्सकहरूले उनलाई पुनः जीवित गराए। त्यसपछि उनी २६ घण्टासम्म कोमामा रहे।

पछि एउटा पोडकास्टमा उनले भनेका थिए, ‘मैले एउटा निलो प्रकाश देखेँ र त्यसपछि एउटा सुरुङजस्तो दृश्य देखेँ। त्यतिबेला मलाई लाग्यो कि म केही समय अझै त्यहीँ बस्न चाहन्छु।’

त्यस समयमा उनकी आमा नर्वेबाट कोपेनहेगन आउँदै थिइन्। यदि छोरा बाँचेन भने अन्त्येष्टि कसरी गर्ने, र बाँच्यो तर मस्तिष्कमा क्षति पुग्यो भने भविष्यको जीवन कस्तो हुनेछ भन्ने चिन्ताले उनलाई सताइरहेको थियो।

जाँचपछि थाहा भयो कि उनलाई जन्मजात मुटुसम्बन्धी समस्या रहेछ। चिकित्सकहरूले स्पष्ट रूपमा उनलाई अब व्यावसायिक फुटबल खेल्न नसक्ने बताए।  उनको शरीरमा पेसमेकर राखियो र ३३ वर्षको उमेरमै खेलाडीका रूपमा उनको करियर समाप्त भयो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेलाडीबाट सफल प्रशिक्षकसम्म

त्यसपछि सोलबक्केनले प्रशिक्षकका रूपमा नयाँ यात्रा सुरु गरे। पछिल्ला २६ वर्षमा उनले डेनमार्क, इंग्ल्यान्ड र जर्मनीमा प्रशिक्षकको जिम्मेवारी सम्हाले। एफसी कोपेनहेगनसँग उनले ठूलो सफलता हासिल गरे।

डिसेम्बर २०२० मा उनलाई नर्वे राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरियो। त्यही समयमा एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डजस्ता युवा प्रतिभाहरू उदाउँदै थिए। यद्यपि उनको टोली २०२२ को विश्वकप र २०२४ को युरोपेली च्याम्पियनसिपका लागि छनोट हुन सकेन, तर नर्वे फुटबल संघले उनीमाथिको विश्वास कायम राख्यो।

२०२६ विश्वकप छनोटमा नर्वेले इटालीसहित धेरै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्यो । टोलीले समूह चरणका सबै आठ खेल जित्दै सिधै विश्वकपमा स्थान बनायो। विश्वकपमा पनि नर्वेको उत्कृष्ट प्रदर्शन जारी रह्यो। समूह चरणमा फ्रान्सपछि दोस्रो स्थान हासिल गरेको टोलीले नकआउट चरणमा पहिले आइभरी कोस्ट र त्यसपछि ब्राजिललाई पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो।

नर्वे फुटबल संघले सार्वजनिक गरेको एउटा भिडियोमा सोलबक्केनले भने, ‘यी खेलाडीहरूले केवल नर्वेको फुटबल इतिहास परिवर्तन गरेका छैनन्, उनीहरूले सम्पूर्ण देशको इतिहास परिवर्तन गरेका छन्।’

उनले थपे, ‘आज हामीले महसुस गरिरहेको खुशी नर्वेका हरेक कुनामा महसुस भइरहेको छ। तपाईं सबैलाई धेरै–धेरै धन्यवाद।’ अब नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ, र यस सफलताको पछाडि उसका प्रशिक्षकको असाधारण जीवनयात्रा पनि उत्तिकै प्रेरणादायी छ।

सोलबक्केनले कुनै समय भनेका थिए, ‘जब म त्यो दिन बाँचेँ, त्यसपछि मलाई लाग्यो कि अब म कुनै पनि चुनौतीको सामना गर्न सक्छु।’ आज यो भनाइ उनको जीवन र फुटबल यात्राका लागि पूर्ण रूपमा सान्दर्भिक देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.