काठमाण्डौ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबारमा देखिएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीको वातावरण पनि सकारात्मक बन्दै गएको छ। विशेषगरी साना तथा मझौला आकारका धितो बिक्री हुन थालेपछि समस्याग्रस्त ऋण फर्स्यौटमा केही सहजता देखिएको बैंकरहरूले बताएका छन्।
नेपाल राष्ट्र बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति र वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका तीनवटै त्रैमासमा घरजग्गाको राजीनामा कारोबार मूल्य एक खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
तेस्रो त्रैमासमा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ। दोस्रो त्रैमासमा यस्तो कारोबार एक खर्ब ५४ अर्ब ९७ करोड र पहिलो त्रैमासमा एक खर्ब ६ अर्ब २६ करोड रुपैयाँ थियो।
कारोबार मूल्यका आधारमा दोस्रो र तेस्रो त्रैमासको घरजग्गा कारोबार आर्थिक वर्ष २०७९/८० यताकै उच्च हो। कुल कारोबार संख्या, लिखत पारित, राजीनामा संख्या र कारोबार भएको क्षेत्रफलमा ठूलो सुधार नदेखिए पनि कारोबार रकम उल्लेख्य बढेको छ।
यसले ग्रामीण क्षेत्रका सामान्य मूल्यका जग्गाभन्दा सहरी तथा उच्च मूल्य भएका घरजग्गाको किनबेच बढेको संकेत गर्ने राष्ट्र बैंकको विश्लेषण छ।
धितो बेचेर ऋण तिर्न थाले ऋणी
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका कार्यकारी सदस्य रामचन्द्र खनालका अनुसार ठूला र साना दुवै प्रकारका धितो बिक्रीमा विगतको तुलनामा सुधार आएको छ।
कतिपय ऋणीले बैंकको लिलामी प्रक्रिया कुर्नुभन्दा धितोमा राखिएको घरजग्गा खरिद गर्ने व्यक्ति आफैँ खोजेर ऋण फर्स्यौट गर्न थालेको उनले बताए।
“आर्थिक गतिविधिमा उल्लेख्य सुधार भइसकेको होइन। तर, मूल्य केही कम आए पनि जग्गा बेचेर ऋण तिर्नुपर्छ भन्ने अवस्था ऋणीमा देखिएको छ,” खनालले भने, “महँगो भनिएका जग्गासमेत बिक्री हुन थालेका छन्।”
बैंकका कर्मचारी कर्जा असुलीका लागि फिल्डमा जाँदा विगतमा जस्तो प्रतिरोध र असहयोगको अवस्था घट्दै गएको उनको भनाइ छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि लामो समय सम्पर्कविहीन रहेका ऋणीहरू बैंकको सम्पर्कमा आउन थालेको बताउँछन्।
ऋणीहरूले किस्ता तिर्न समय माग्ने, ऋण पुनःभुक्तानीको योजना प्रस्तुत गर्ने र जरिवाना छुटका लागि प्रस्ताव राख्ने क्रम बढेको उनले बताए।
“बैंकिङ क्षेत्रका लागि काम गर्ने वातावरणमा सुधार आएको छ,” खालिङले भने, “तर आर्थिक गतिविधि नबढेसम्म कर्जाको माग र वास्तविक असुलीमा पूर्ण सुधार आउन समय लाग्छ।”
घटेको मूल्यमै घरजग्गा बिक्री
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यका अनुसार २०–३० लाखदेखि दुई–चार करोड रुपैयाँसम्म मूल्यका सम्पत्ति बिक्री हुन थालेका छन्।
घरजग्गाको मूल्य फेरि बढ्ने अपेक्षामा लामो समय पर्खिएका ऋणीहरूले अहिले मूल्य घटाएर भए पनि सम्पत्ति बिक्री गरी ऋण तिर्न थालेको उनले बताए। घटेको मूल्यमा अवसर खोजिरहेका खरिदकर्ताले पनि यस्ता सम्पत्ति खरिद गरिरहेका छन्।
विशेषगरी काठमाडौं उपत्यकाबाहिरका सहरी क्षेत्रमा बैंकले लिलाम गरेका वा ऋणीले बिक्रीमा राखेका घरजग्गाको कारोबार बढेको उनको भनाइ छ।
“असुलीमा ठूलो परिवर्तन भएको होइन, तर वातावरण सुधारोन्मुख छ,” शाक्यले भने, “मधेसका कतिपय क्षेत्रमा पनि ऋणीले समय पाए ऋण तिर्ने भन्दै योजना प्रस्तुत गर्न थालेका छन्।”
साना ऋणी सक्रिय, ठूला ऋणमै समस्या
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे भने साना ऋणीले जसोतसो स्रोत व्यवस्थापन गरेर ऋण तिरे पनि ठूला ऋणीको असुलीमा अपेक्षित सुधार नआएको बताउँछन्।
“गत वर्षको तुलनामा वातावरण केही सकारात्मक छ,” उनले भने, “तर ठूला ऋणको असुलीमा सुधार नआएसम्म समग्र कर्जा असुली सुधार भयो भन्न सकिँदैन।”
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको अनुभव भने फरक छ। उनका अनुसार बैंकले धितो लिलामी तथा गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि सूचना निकाल्दा समेत धेरै ठाउँमा आवेदन नपर्ने अवस्था कायमै छ।
“अवस्था थप बिग्रिएको छैन, तर बिग्रिएका कर्जाबाट रकम उठेर सुधार आएको पनि छैन,” उनले भने।
नियामकीय व्यवस्थाले बैंकको आम्दानीमा दबाब
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार असुलीको वातावरण सकारात्मक भए पनि दुईवटा नियामकीय व्यवस्थाले बैंकहरूलाई दबाबमा पारेको छ।
विगतमा असार मसान्तमा उठ्नुपर्ने ब्याज साउन १५ भित्र असुल भए पनि असारकै आम्दानीमा देखाउन पाइन्थ्यो। अहिले असार मसान्तभित्र उठेको रकमलाई मात्रै आधार मानेर वार्षिक हिसाब बन्द गर्नुपर्ने व्यवस्था छ।
कतिपय व्यवसायीले आफ्नो संस्थाको वित्तीय विवरण बन्द गरेपछि मात्र बैंकको ब्याज तिर्ने भएकाले साउनको सुरुवातमा आएको रकमसमेत अघिल्लो आर्थिक वर्षको आम्दानीमा देखाउन नपाउँदा समस्या भएको उनको भनाइ छ।
त्यस्तै, बक्यौता तिरेर नियमित भएको कर्जालाई तत्काल ‘असल’ वर्गमा राखी गरिएको प्रोभिजन फिर्ता गर्न नपाइने व्यवस्था पनि बैंकका लागि चुनौती बनेको छ। अहिले कर्जा नियमित भएको तीन महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गरी प्रोभिजन राइटब्याक गर्न पाइन्छ।
कोइरालाका अनुसार धनगढीदेखि विराटनगरसम्मको बजार अवस्था अवलोकन गर्दा कर्जा असुलीको वातावरणमा सुधार देखिएको छ। विगतमा सबैभन्दा समस्या देखिएको मधेस प्रदेशमा समेत ऋणीहरू बैंकको सम्पर्कमा आएर भुक्तानी योजना प्रस्तुत गर्न थालेका छन्।
समग्रमा घरजग्गाको कारोबार मूल्य बढ्नु, साना तथा मझौला धितो बिक्री हुनु र ऋणीहरू बैंकको सम्पर्कमा फर्किनुले कर्जा असुलीमा सकारात्मक संकेत दिएको छ। तर ठूला ऋण, कमजोर आर्थिक गतिविधि र नियामकीय व्यवस्थाका कारण बैंकहरूको वास्तविक रिकभरीमा उल्लेख्य सुधार आउन अझै समय लाग्ने देखिन्छ।

