बिहीबार, श्रावण ७,२०८३ 06:21:52
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 06:21:52
Bizshala
Global IME Bank Limited

धानचामलमा बढ्दो परनिर्भरता, एक वर्षमै बाहिरियो करिब ४० अर्ब

धानचामलमा बढ्दो परनिर्भरता, एक वर्षमै बाहिरियो करिब ४० अर्ब
New Office

 

काठमाण्डौ ।   कृषिप्रधान देश नेपालले गत आर्थिक वर्षमा धान तथा चामल आयातका लागि करिब ४० अर्ब रुपैयाँ खर्च गरेको छ। कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात बढ्दा खाद्यान्नमा नेपालको परनिर्भरता उच्च नै रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल सात लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ। त्यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ विदेशिएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात लाख ७५ हजार २६८ टन धानचामल आयात गर्दा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ खर्च भएको थियो।

यस आधारमा गत वर्ष धानचामलको आयात परिमाण ३३ हजार ५६५ टनले घटेको छ भने आयात रकम करिब २९ करोड ३९ लाख रुपैयाँले कम भएको छ।

कच्चा धानको आयात घट्यो

गत आर्थिक वर्षमा नेपालले चार लाख ७७ हजार ९०९ टन धान आयात गरेको छ। यसको मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ रहेको छ।

आयात भएको धानमध्ये दुई हजार ९९३ टन बिउ र चार लाख ७४ हजार ९१५ टन अन्य कच्चा धान रहेको छ।

अघिल्लो आर्थिक वर्षमा पाँच लाख ३३ हजार ७१५ टन धान आयात भएको थियो। त्यसका लागि २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ खर्च भएको थियो।

तयारी चामलको आयात बढ्यो

कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात भने बढेको छ। गत आर्थिक वर्षमा नेपालले दुई लाख ६३ हजार ७९४ टन तयारी चामल आयात गरेको छ। त्यसका लागि २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ।

अघिल्लो वर्ष दुई लाख ४१ हजार ५५३ टन तयारी चामल आयात भएको थियो, जसको मूल्य १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ थियो।

गत वर्ष आयात भएको तयारी चामलमध्ये सबैभन्दा धेरै एक लाख ८३ हजार ११० टन मसिनो चामल रहेको छ। त्यसपछि ७१ हजार ६२२ टन बासमती चामल र नौ हजार ५२ टन कनिका आयात भएको छ।

भारतमाथि अत्यधिक निर्भरता

नेपालको धानचामल आयातमा भारतको हिस्सा ९९ प्रतिशतभन्दा बढी रहेको छ। गत आर्थिक वर्षमा आयात भएको चार लाख ७४ हजार ९१५ टन कच्चा धान शतप्रतिशत भारतबाट आएको छ।

त्यस्तै, आयात भएको ७१ हजार ६२२ टन बासमती चामलमध्ये ७१ हजार ६१७ टन भारतबाटै भित्रिएको छ।

मसिनो चामलतर्फ कुल एक लाख ८३ हजार ११० टन आयात हुँदा भारतबाट मात्रै एक लाख ८२ हजार ४०५ टन आएको छ। यसको मूल्य करिब ११ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

भारतबाहेक भियतनामबाट ६०९ टन, चीनबाट ६६ टन, थाइल्यान्डबाट २६ टन र इटालीबाट करिब तीन टन चामल आयात भएको छ।

धानको बिउ भने भारतबाट दुई हजार ६६९ टन र चीनबाट ३२४ टन आयात भएको विभागको तथ्यांक छ।

समग्र आयातमा सामान्य कमी आए पनि तयारी चामलको आयात बढ्नु र अधिकांश आपूर्ति एउटै मुलुकमा निर्भर रहनुले नेपालको खाद्य सुरक्षा तथा कृषि उत्पादन प्रणालीमाथि चुनौती कायमै रहेको देखाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.