काठमाण्डौ । नेपाली बजारमा एक वर्षको अवधिमा बिक्रीका लागि भित्रिएका मोबाइल फोनको अनुमानित बजार मूल्य ६८ अर्ब रुपैयाँ नाघेको छ। स्मार्टफोनको प्रयोग विस्तारसँगै सस्ता तथा सामान्य फोनको तुलनामा महँगा सेटको माग बढ्दा मोबाइल आयातको संख्या कम भए पनि कुल मूल्य हालसम्मकै उच्च देखिएको हो।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २२ लाख ६७ हजार ४१९ वटा मोबाइल सेट आयात भएका छन्। ती मोबाइलको भन्सार मूल्य ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ रहेको छ।
आयात मूल्यमा कर, आयातकर्ता तथा विक्रेताको मार्जिन र वितरण लागत जोड्दा ती मोबाइलको अनुमानित बजार मूल्य करिब ६८ अर्ब १७ करोड रुपैयाँ पुग्ने व्यवसायीहरूको आकलन छ।
यो मूल्यलाई आयात भएको संख्याले भाग गर्दा एउटा मोबाइल सेटको औसत बजार मूल्य करिब ३० हजार रुपैयाँ पर्छ। यसले नेपाली बजारमा २५ हजारदेखि ३५ हजार रुपैयाँसम्मका स्मार्टफोनको हिस्सा ठूलो रहेको व्यवसायीहरूको भनाइलाई पनि पुष्टि गर्छ।
नेपालमा १० हजार रुपैयाँ हाराहारीका आधारभूत स्मार्टफोनदेखि दुई लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने प्रिमियम आइफोनसम्म बिक्री हुँदै आएका छन्। सबै सस्ता र महँगा मोबाइलको संयुक्त औसत निकाल्दा प्रतिमोबाइल मूल्य करिब ३० हजार रुपैयाँ देखिएको हो।
सरकारलाई नौ अर्बभन्दा बढी राजस्व
गत आर्थिक वर्ष मोबाइल आयातबाट सरकारले नौ अर्ब आठ करोड २३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।
मोबाइल आयातमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर र पाँच प्रतिशत अन्तःशुल्क लगाउने गरेको छ। व्यवसायीले मूल्य अभिवृद्धि करसँग सम्बन्धित थप ०.६५ प्रतिशत भारसमेत गरी मोबाइल आयात गर्दा कुल १८.६५ प्रतिशतसम्म राजस्व तिर्ने गरेको बताएका छन्।
आयातपछि मोबाइल आयातकर्ता, थोक विक्रेता र खुद्रा व्यापारीको मार्जिन तथा अन्य खर्च जोडिँदा भन्सार मूल्यको तुलनामा उपभोक्ता मूल्य करिब ४० प्रतिशतसम्म बढ्ने मोबाइल आयातकर्ता संघको भनाइ छ।
सोही अनुपातअनुसार ४८ अर्ब ६९ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइलमा करिब १९ अर्ब ४७ करोड रुपैयाँ थपिँदा बजार मूल्य ६८ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो।
मोबाइलको संख्या घट्यो, खर्च बढ्यो
नेपालमा संख्याका आधारमा सबैभन्दा धेरै मोबाइल आर्थिक वर्ष २०७८/७९ मा आयात भएका थिए। उक्त वर्ष ५५ लाख ८६ हजार सेट मोबाइल भित्रिए पनि कुल भन्सार मूल्य करिब ३८ अर्ब रुपैयाँ मात्र थियो।
त्यतिबेला आयात हुने मोबाइलमा सामान्य फिचर फोन अर्थात् बारफोनको हिस्सा ठूलो थियो। पछिल्लो समय भने फिचर फोनको स्थानसमेत स्मार्टफोनले लिन थालेको छ।
यसकारण अहिले आयात हुने मोबाइलको संख्या विगतको तुलनामा कम भए पनि प्रतिमोबाइल मूल्य र कुल आयात खर्च बढेको छ। तथ्यांकले नेपाली उपभोक्ताको रोजाइ सस्ता मोबाइलबाट मध्यम तथा प्रिमियम मूल्यका स्मार्टफोनतर्फ सर्दै गएको संकेत गर्छ।
इन्टरनेटको विस्तार, डिजिटल बैंकिङ, अनलाइन शिक्षा, सामाजिक सञ्जाल र डिजिटल सेवाको प्रयोग बढेसँगै स्मार्टफोन विलासिताको वस्तुभन्दा दैनिक जीवनको आवश्यक साधन बनेको छ।
विशेषगरी कोरोना महामारीपछि डिजिटल गतिविधि तीव्र रूपमा विस्तार हुँदा नेपालमा स्मार्टफोनको प्रयोग उल्लेख्य रूपमा बढेको थियो। त्यसको प्रभाव पछिल्ला वर्षमा पनि कायम रहेको देखिन्छ।
मोबाइलको बढ्दो प्रयोगलाई डिजिटल अर्थतन्त्रका लागि सकारात्मक मानिए पनि आयातमा मात्रै ठूलो रकम खर्च हुँदा वैदेशिक मुद्रा बाहिरिने क्रम बढेको छ। नेपालमै मोबाइल एसेम्बलिङ उद्योगको विकास र लगानीलाई प्रोत्साहन गर्न सके आयातमा निर्भरता तथा व्यापार घाटा केही हदसम्म घटाउन सकिने सरोकारवालाहरूको भनाइ छ।

