काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा सहभागी नहुने भएपछि नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभालाई सम्बोधन गर्ने तयारी भइरहेको छ। यसका लागि मन्त्रालयका सम्बन्धित महाशाखा तथा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगलाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिइसकिएको स्रोतले जनाएको छ।
यस वर्ष संयुक्त राष्ट्रसंघ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ मा हुने छ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुनेछ। महासभाको तयारीसँगै परराष्ट्र मन्त्रालयले न्युयोर्कमा सार्क मन्त्रिपरिषद्को बैठक आयोजना गर्ने सम्भावनाबारे समेत छलफल गरिरहेको छ। सार्कको अध्यक्ष राष्ट्रका रूपमा महासभाको अवसरमा बैठक आयोजना गर्ने जिम्मेवारी नेपालमा भए पनि भारत–पाकिस्तानबीचको दीर्घकालीन तनावका कारण विगत केही वर्षदेखि यस्तो बैठक हुन सकेको छैन।
नेपालले एक दशकभन्दा बढी समयदेखि सार्कको अध्यक्षता गर्दै आएको छ। तर भारत–पाकिस्तानबीचको विवादका कारण सन् २०१६ यता तय भएको १९औँ सार्क शिखर सम्मेलन समेत आयोजना हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सार्कसम्बन्धी विकल्पहरूबारे छलफल जारी रहेको र भारत तथा पाकिस्तानको धारणा अनौपचारिक रूपमा बुझ्ने प्रयास भइरहेको छ।
हाल सार्क सचिवालय सञ्चालनका लागि सदस्य राष्ट्रहरूले नियमित बजेट उपलब्ध गराइरहेका छन्। संयुक्त सचिव तहको प्रोग्रामिङ समितिका केही बैठक भए पनि उच्च तहका अधिकारीहरूको सहभागिता आवश्यक पर्ने बैठकहरू भने लामो समयदेखि हुन सकेका छैनन्।
विगतमा आन्तरिक राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता नजनाएका उदाहरण रहे पनि यसपटक प्रधानमन्त्री शाह सहभागी नहुने कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन।

