काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक अवस्था अझै सहज बन्न नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनचाहनाअनुसार काम हुन नसक्दा नागरिकमा निराशा र असन्तुष्टि बढ्दै गएको बताए।
‘देशको राजनीति सहज भइसकेको छैन,’ उनले भने, ‘सरकारका गतिविधिले जनतामा भरोसा बढाउनुको सट्टा झन् झस्किने अवस्था सिर्जना भएको देखिन्छ।’
राजनीतिक नेतृत्वले मुलुकमा भएका सकारात्मक कामको जस मात्र लिन नहुने भन्दै उनले विकृति, बेथिति र असफलताको जिम्मेवारी पनि स्वीकार गर्नुपर्ने बताए।
सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र एक युवकको मृत्युतर्फ संकेत गर्दै प्रचण्डले राज्य सञ्चालनमा देखिएको कमजोरीबाट राजनीतिक नेतृत्व पन्छिन नमिल्ने धारणा राखे।
‘देशमा भएका राम्रा कामको मात्र होइन, नराम्रा कामको जिम्मेवारी पनि राजनीतिक नेतृत्वले लिनुपर्छ,’ उनले भने, ‘बेथिति र अराजकताको जिम्मेवारी नेतृत्वले लिनैपर्छ।’
प्रचण्डले जनतामा बढिरहेको निराशालाई सामान्य रूपमा नलिन सरकारलाई सचेत गराए। नागरिकको अपेक्षा सम्बोधन गर्न नसकिए राजनीतिक असन्तुष्टि थप गहिरिँदै जाने उनको संकेत थियो।
सुनसरी घटनापछि सरकारको शान्ति सुरक्षा व्यवस्थापन र राजनीतिक नेतृत्वको भूमिकामाथि संसद्मा प्रश्न उठिरहेका बेला प्रचण्डको अभिव्यक्तिलाई सरकारमाथिको थप दबाबका रूपमा हेरिएको छ।

