काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार तथा वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर हुनुको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले उक्त अवसरमा नेपाल राष्ट्र बैंकलाई मुलुकको आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। वाग्लेले मौद्रिक नीति, वित्तीय क्षेत्र र आर्थिक सुधारका विषयमा प्रभावकारी समन्वय आवश्यक रहेको समेत बताए ।
अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको निष्कर्ष आएको बताए।
उनले विगत एक दशकको आर्थिक अवस्थाको समीक्षा गर्दै नीतिगत निर्णय भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गरे। लगानीकर्ताको आत्मविश्वास कमजोर हुनु, बैंकिङ प्रणालीमा तरलता बढे पनि उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुन नसक्नु र पूँजी बजार तथा वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर हुनुजस्ता विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
‘अबका आर्थिक नीतिले आगामी दशकको दिशा निर्धारण गर्नेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘हामीले समस्या व्यवस्थापन गर्ने मात्र होइन, समाधान सिर्जना गर्ने नियामकको भूमिका निर्वाह गर्नुपर्छ।’
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट मार्गचित्र अघि सारेको उल्लेख गर्दै उनले त्यसको सफल कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने बताए।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग तथा रोजगारी सिर्जनामा परिचालन, पूँजी बजार, रियल इस्टेट र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण, तथा मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वयका विषयमा राष्ट्र बैंकका अधिकारीहरूसँग सुझाव मागेका थिए।
उनले डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई सहज बनाउने दिशामा समेत सोच्नुपर्ने आवश्यकता औंल्याए।
‘नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु मात्र होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु पनि हो,’ अर्थमन्त्री वाग्लेले भने। उनले नियमनले नवप्रवर्तनलाई रोक्ने नभई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
सरकारले आर्थिक सुधारका लागि आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइरहेको जानकारी दिँदै उनले मौद्रिक क्षेत्रबाट पनि त्यही स्तरको स्पष्टता, गति र प्रतिबद्धता आवश्यक रहेको बताए।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकाय नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहेको उल्लेख गरे। छलफलबाट आएका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे संयुक्त कार्यदल गठन गरी नीतिगत समन्वयलाई थप प्रभावकारी बनाइने उनले बताए।
उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढ्न सके नेपालको आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।