काठमाण्डौ। विश्वकै धनाढ्य एलन मस्क नेतृत्वको अमेरिकी अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सले पहिलो पटक सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनमा कम्पनीको आम्दानी उल्लेख्य रूपमा बढे पनि खर्च तीव्र रूपमा बढेका कारण ठूलो घाटा व्यहोरेको जनाएको छ।
प्रतिवेदनअनुसार कम्पनीको त्रैमासिक आम्दानी वार्षिक आधारमा ९२ प्रतिशतले बढेर ७.८ अर्ब अमेरिकी डलर पुगेको छ। तर सोही अवधिमा कम्पनीको खर्च ५५० प्रतिशतभन्दा बढी वृद्धि हुँदै १८.३ अर्ब डलर पुगेको छ। चालु वर्षको पहिलो छ महिनामै कम्पनीले २ अर्ब डलरको खुद घाटा बेहोरेको छ।
वित्तीय विवरण सार्वजनिक भएपछि स्पेसएक्सको सेयर मूल्य कारोबारपछिको सत्रमा करिब ९ प्रतिशतले घटेको थियो।
एलन मस्कले लगानीकर्तासँगको छलफलमा स्पेसएक्सलाई बजारले अझै पनि कम मूल्याङ्कन गरिरहेको दाबी गर्दै स्टारलिङ्क कम्पनीको सबैभन्दा नाफामुखी व्यवसाय बनेको बताए। उनका अनुसार दोस्रो त्रैमासमा स्टारलिङ्कले १.६ अर्ब डलर आम्दानी गरेको छ र आगामी वर्षहरूमा यसको विस्तार तीव्र हुने अपेक्षा गरिएको छ।
मस्कले एआई सम्बन्धी कम्प्युटिङ सेवा पनि कम्पनीको भविष्यको प्रमुख आम्दानी स्रोत बन्ने विश्वास व्यक्त गरे। हाल स्पेसएक्ससँग १.४ गिगावाट कम्प्युटिङ क्षमता रहेको र आगामी वर्षसम्म यसलाई १० गिगावाटभन्दा बढी पुर्याउने लक्ष्य रहेको उनले बताए। कम्पनीले यो सेवा गुगल र एन्थ्रोपिक लगायतका संस्थालाई उपलब्ध गराइरहेको छ।
यद्यपि, स्पेसएक्सको अन्तरिक्ष व्यवसायले दोस्रो त्रैमासमा ९६ करोड २० लाख डलर आम्दानी गरे पनि ५४ करोड २० लाख डलर घाटा व्यहोरेको छ। त्यस्तै, कम्पनीको एआई व्यवसायले २.५ अर्ब डलर आम्दानी गरे पनि १.२ अर्ब डलर घाटा व्यहोरेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीका वित्त प्रमुख ब्रेट जोन्सनले चालु वर्षभर पूँजीगत खर्च उच्च स्तरमै रहने जानकारी दिएका छन्। यसबीच, एलन मस्कले सन् २०३० सम्म स्पेसएक्सको वार्षिक आम्दानी १ ट्रिलियन अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।