बिहीबार, श्रावण २१,२०८३ 03:34:40
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:34:40
Bizshala
Global IME Bank Limited

बीमा बजारमा विरोधाभास : पोलिसी सरेन्डर घट्यो, ल्याप्स रकम उक्लियो

बीमा बजारमा विरोधाभास : पोलिसी सरेन्डर घट्यो, ल्याप्स रकम उक्लियो
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने क्रम घट्दै गएको देखिएको छ ।  

गत आर्थिक वर्षमा बीमितहरूले बीचमै पोलिसी समर्पण गर्ने संख्या र त्यसबापत भुक्तानी गरिएको रकम दुवै अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको देखिएको हो । यसलाई जीवन बीमा क्षेत्रमा सकारात्मक सुधारको संकेतका रूपमा हेरिएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा ९० हजार ३८७ वटा बीमालेखका १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग वा समर्पण भएको हो ।  

यो समर्पण रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.११ प्रतिशत कम हो भने समर्पण भएको पोलिसी संख्या भने १६.४९ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुबाट १ लाख ८ हजार २३८ वटा पोलिसी बराबरको कुल १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको थियो ।  

बीमा कम्पनीहरुका पोलिसी त्याग गर्नेको संख्या र दरमा आएको कमीले बीमितहरू आफ्नो बीमा योजनाप्रति पहिलेभन्दा बढी प्रतिबद्ध भएको र बीचमै बीमा योजना त्याग्ने प्रवृत्ति पनि घट्दै गएको संकेत गरेको छ ।

बीमा विज्ञहरूका अनुसार वित्तीय साक्षरतामा आएको वृद्धि, कम्पनीहरूले उपलब्ध गराएका सेवामा सुधार तथा दीर्घकालीन बचत र सुरक्षा सम्बन्धी जनचेतना बढ्दै जाँदा पोलिसी समर्पणको दर घट्न थालेको हो ।  

पछिल्ला वर्षहरूमा बीमा कम्पनीहरूले ग्राहक सेवा विस्तार, डिजिटल सेवा र समयमै दाबी भुक्तानीमा जोड दिएकाले पनि बीमितहरूको विश्वास बढेको उनीहरूको भनाइ छ ।

बीमा पोलिसी समर्पणको दर घट्नु जीवन बीमा कम्पनीहरूको व्यवसायिक स्थायित्वका लागि पनि सकारात्मक हुने देखिन्छ । यसबाट कम्पनीहरूको दीर्घकालीन कोष व्यवस्थापन बलियो हुने, लगानी क्षमता बढ्ने तथा समग्र जीवन बीमा उद्योगको वित्तीय अवस्था थप सुदृढ बन्ने अपेक्षा गरिएको छ ।

कम पोलिसी निष्क्रिय, तर अर्बौं रुपैयाँ बराबरको बीमा जोखिममा

जीवन बीमा क्षेत्रमा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्या घटे पनि त्यस्ता बीमालेखको कुल बीमांक रकम भने बढेको देखिएको छ। यसले संख्यात्मक रूपमा कम बीमालेख निष्क्रिय भए पनि उच्च बीमांक भएका बीमालेखहरू बढी प्रभावित भएको संकेत गरेको छ ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म १० लाख ३० हजार ४० वटा बीमालेख व्यतित (ल्याप्स)भएका छन् ।  

व्यतित भएका अर्थात् नवीकरण नभएको यो बीमालेख संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १७.१६ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुमा १२ लाख ४३ हजार ३६५ वटा पोलिसी ल्याप्स भएका थिए ।  

यसरी ल्याप्स भएको संख्यामा सुधार देखिएपनि रकममा भने वृद्धि देखिएको छ । अघिल्लो आवमा नवीकरण नभएको पोलिसी रकम ३५ अर्ब एक करोड ७७ लाख रुपैयाँ रहेकोमा गत आवमा भने १२.०८ प्रतिशतले वृद्धि भई ३९ अर्ब २४करोड ७२ लाख रुपैयाँ पुगेको छ ।  

यो तथ्यांकले उल्लेख्य संख्यामा बीमितहरूले समयमै नवीकरण शुल्क (प्रिमियम) भुक्तानी गर्न नसक्दा बीमालेख निष्क्रिय भएको देखाउँछ ।

उच्च बीमांक भएका बीमितले प्रिमियम भुक्तानी निरन्तर गर्न नसक्दा वा आर्थिक दबाबका कारण बीमालेख व्यतित हुने क्रम बढेपछि रकममा वृद्धि देखिएको हो । पछिल्ला वर्षहरूमा उच्च बीमांकका जीवन बीमा योजनाप्रति आकर्षण बढेकाले कम संख्यामा बीमालेख व्यतित भए पनि त्यसको कुल बीमांक रकम उल्लेख्य देखिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.