काठमाण्डौ । मधेस प्रदेशका विभिन्न जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरधामले जनाएको छ।
कार्यालयका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढेको हो।
चोरी भएका ट्रान्सफर्मरमध्ये महोत्तरीमा सबैभन्दा बढी ३५ वटा रहेका छन्। त्यस्तै बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्।
चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएदेखि २०० केभिएसम्म रहेको प्राधिकरणले जनाएको छ।
ट्रान्सफर्मर चोरीका कारण किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी सिँचाइको समयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कृषकलाई समस्या परेको छ। कृषकहरूले चोरीमा संलग्न व्यक्तिलाई शीघ्र पक्राउ गरी क्षतिग्रस्त स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।