काठमाण्डौ । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन्।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवार र प्रहरीले खोजी थालेका थिए।
खोजीका क्रममा सिंहले प्रयोग गर्दै आएको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको थियो।
मोटरसाइकल भेटिएपछि प्रहरीले खोजीलाई थप तीव्र बनाएको थियो। सिंहको खोजीका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।
व्यापक खोजीपछि आइतबार उनको शव जंगल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।
सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयर हुनुका साथै नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय थिए।
उनको मृत्युको कारण तथा घटनासम्बन्धी थप विवरण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।