काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति अपेक्षाअनुसार नदेखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विवरण जाँच गर्ने भएको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका हुन्।
बुर्लाकोटीका अनुसार पछिल्लो समय संसद बैठकमा सांसदहरूको उपस्थिति कमजोर देखिएको छ। कतिपय सांसद बैठक सुरु हुँदा उपस्थित हुने तर बीचमै बैठक छाडेर जाने प्रवृत्ति पनि बढेको भन्दै संसदीय दलले यसलाई गम्भीर रूपमा लिएको छ।
उनले यस्तो प्रवृत्तिले संसदको गरिमा र प्रभावकारितामै असर पार्न सक्ने बताएका छन्।
रास्वपाले विशेषगरी असार ३० र ३१ तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधि सभा बैठकको हाजिरी विवरण अध्ययन गर्न लागेको हो।
संसद सचिवालयबाट ती दिनको उपस्थिति विवरण प्राप्त गरी कुन सांसद कति समय बैठकमा उपस्थित रहे, कसले बीचमै बैठक छाडे र समग्र उपस्थिति कस्तो रह्यो भन्ने विषयमा विश्लेषण गरिनेछ।
सचेतक परियार र धिताललाई सात दिनभित्र उक्त विश्लेषणसहितको प्रतिवेदन संसदीय दलमा पेस गर्न निर्देशन दिइएको छ।
पछिल्लो समय प्रतिनिधि सभा बैठकका क्रममा धेरै कुर्सी खाली देखिन थालेको भन्दै सार्वजनिक रूपमा समेत आलोचना भइरहेका बेला रास्वपाले आफ्नै सांसदहरूको हाजिरी निगरानी गर्ने कदम चालेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।