काठमाण्डौ । बजारमा खाना पकाउने ग्यासको अभाव र अनियमितताको गुनासो बढिरहेका बेला नेपालगन्जमा एक किराना पसलले १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको छ। बजार अनुगमनका क्रममा सिलिन्डर फेला परेपछि पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा लुकाएर राखिएका ग्यास सिलिन्डर फेला परेका हुन्।
प्रशासनका अनुसार ग्यास लुकाएर राखिएको सूचना प्राप्त भएपछि अनुगमन टोली पसलमा पुगेको थियो। टोलीले पसलको निरीक्षण गर्दा १३ वटा ग्यास सिलिन्डर उपभोक्ताको पहुँचबाट अलग राखिएको अवस्थामा फेला पारेको हो।
ग्यास लुकाएर राखेको विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा उक्त पसलबाट केही अखाद्य सामग्रीसमेत फेला परेको थियो।
बजारमा ग्यासलगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, लुकाएर राख्ने तथा अनियमित बिक्री वितरण भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।