काठमाण्डौ। मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ। कुल १२ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।
आयोजनाको वित्तीय व्यवस्थापन एनएमबी बैंकको अगुवाइमा भएको हो। सहवित्तीयकरण संरचनाअन्तर्गत एनएमबी बैंकले अगुवा बैंक र सानिमा बैंक लिमिटेडले सह–अगुवा बैंकको जिम्मेवारी सम्हालेका छन्।
कुल लागतको करिब ७५ प्रतिशत रकम बैंक ऋणबाट जुट्नेछ। बाँकी करिब ३ अर्ब २३ करोड रुपैयाँ अर्थात् २५ प्रतिशत रकम प्रवर्द्धकहरूको स्वपुँजीबाट व्यवस्थापन हुने देखिन्छ।
आयोजनाको प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि हो। कम्पनीमा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिना समूह मुख्य लगानीकर्ताका रूपमा रहेका छन्।
ऋण सुविधासम्बन्धी सम्झौतामा एनएमबी बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार केसीले हस्ताक्षर गरेका छन्।
वित्तीय व्यवस्थापनले निर्माणलाई गति दिने
जलविद्युत् आयोजनामा ‘फाइनान्सियल क्लोजर’लाई निर्माण अघि बढाउने निर्णायक चरणका रूपमा लिइन्छ। आवश्यक ऋण लगानीको स्रोत सुनिश्चित भएपछि आयोजना निर्माण, उपकरण खरिद तथा अन्य पूर्वाधारसम्बन्धी कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सहज हुन्छ।
दूधखोला आयोजनाको वित्तीय व्यवस्थापनसँगै उच्च हिमाली जिल्ला मनाङमा जलविद्युत् पूर्वाधार विस्तारले थप गति लिने अपेक्षा गरिएको छ। आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा ६५ मेगावाट विद्युत् थपिनेछ।
यस आयोजनासहित एनएमबी बैंकले देशभरका ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी विस्तार गरेको जनाएको छ। पछिल्लो सम्झौताले बैंकको नवीकरणीय ऊर्जा तथा हरित पूर्वाधार क्षेत्रमा रहेको लगानी पोर्टफोलियोलाई थप फराकिलो बनाएको छ।
वातावरणीय तथा सामाजिक जोखिमको पनि मूल्यांकन
आयोजनामा वित्तीय पक्षसँगै वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी जोखिमको समेत अध्ययन गरिएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबी बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीमार्फत आयोजनासँग सम्बन्धित सम्भावित जोखिम मूल्यांकन गरेको हो।
आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासन अर्थात् ईएसजी पक्षको परीक्षण गर्न ‘हाइड्रोसेलेक्ट टुल’ प्रयोग गरिएको छ। यो जलविद्युत् आयोजनाको प्रारम्भिक ईएसजी परीक्षणका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले विकास गरेको मूल्यांकन उपकरण हो।
एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र नौवटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।