काठमाण्डौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरको माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा परेर हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्।
हाइड्रोपावरमा काम गर्ने क्रममा अचानक पहिरो खसेपछि बरुवाल पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।
यसैगरी, पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरमा काम गर्न जाने क्रममा रहेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकलाई लागेको थियो। ढुंगाले लागेर विकको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ।
घाइते विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
बेपत्ता बरुवालको खोजीका लागि भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।