काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ ।
नेपाल सरकार अन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र मध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको हो ।
कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारीत काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।