काठमाण्डौ । अमेरिकाले आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध ठूलो सैन्य कारबाही हुन सक्ने संकेत गर्दै खाडी क्षेत्रका मुलुकलाई सतर्क रहन आग्रह गरेको बताइएको छ।
‘द वाल स्ट्रिट जर्नल’ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको सैन्य कारबाहीको तयारीमा जुटिरहेको उल्लेख गरेको छ।
समाचारअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः पूर्ति गरिरहेको छ भने बमवर्षक तथा लडाकु विमानलाई सम्भावित सैन्य कारबाहीका लागि तयारी अवस्थामा राखिएको छ।
इजरायलले पनि सम्भावित आक्रमणका लागि लक्ष्य पहिचान र योजना निर्माणको काम अघि बढाएको समाचारमा जनाइएको छ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय गरिसकेका छैनन्। तर, इरानका रणनीतिक पूर्वाधार तथा आणविक केन्द्रलाई लक्षित गरी ठूलो सैन्य कारबाहीको विकल्पबारे तयारी भइरहेको बताइएको छ।
ट्रम्पले गत साता इरानसँग अझै सम्झौताको सम्भावना रहेको संकेत गरेका थिए। तर, सहमति नभए अमेरिकाले पुनः बमबारी अभियान सुरु गर्न सक्ने चेतावनी पनि दिएका थिए।
यसअघि ट्रम्पले मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए। त्यसैले निर्वाचनपछि अमेरिका र इजरायलले इरानप्रति कस्तो रणनीति अपनाउँछन् भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ।
मध्यपूर्वमा पछिल्लो समय बढ्दो सैन्य गतिविधि, अमेरिकी तयारी र इजरायलको सम्भावित कदमले खाडी क्षेत्रमा नयाँ तनाव बढ्न सक्ने संकेत देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।