काठमाण्डौ । कुमारी बैंक लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफामा आकर्षक वृद्धि देखिएको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले ७ अर्ब ३८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३०५.९५ प्रतिशतले बढी हो ।
यस्तै बैंकले १२ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले ११ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब ४३ करोड रुपैयाँले रिभर्सल भएको छ । अघिल्लो आवमा ३ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ ७९ करोड १६ लाख रुपैयाँले धनात्मक बनेको छ । यस्तै बैंकको रिजर्भमा भने १७ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब ६४ अर्बबाट बढेर ४ खर्ब २ अर्बै पुगेको छ । कर्जा परिचालन पनि २ खर्ब ६० अर्बबाट बढेर २ खर्ब ७० अर्ब पुगेको छ ।
चौथो त्रैमाससम्म खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवमा ६.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७.४६ प्रतिशत पुगेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँले धनात्मक बनेको छ। अघिल्लो आवमा भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक थियो । यस्तै लाभांश क्षमता ३.०२ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ६.९४ प्रतिशतबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.४५ गुणा र तरलता अनुपात ३९.८२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।