काठमाण्डौ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ लाई लक्षित गर्दै वाणिज्य तथा विकास बैंकहरूले ग्राहक तान्न आकर्षक अफर सार्वजनिक गरेका छन् । विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले कम ब्याजदर, न्यून प्रिमियम, शुल्क छुट र छिटो कर्जा प्रक्रियाका योजना अघि सारेका छन् ।
एक्स्पोमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले विशेष अटो लोन योजना ल्याएका छन् ।
एनएमबि बैंक
एनएमबी बैंकले नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थपेर अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले विशेषगरी ईभी बुक गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।
त्यस्तै, बैंकले ‘सेकेन्ड ह्यान्ड’ गाडी खरिदका लागि मूल्यांकन गरिएको रकमको अधिकतम ५५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । तर यस्तो कर्जाको अधिकतम सीमा भने ३५ लाख रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आईएमई बैंकले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिका लागि अटो कर्जामा ०.५ प्रतिशतदेखि प्रिमियम सुरु हुने अफर ल्याएको छ भने आवश्यक कागजात र प्रक्रिया पूरा भएका ग्राहकलाई एक्स्पोमै कर्जा उपलब्ध गराउने जनाएको छ ।
नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ । तीन वर्षपछि भने बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम हुनेछ । अटो लोनको अवधि अधिकतम सात वर्षसम्म रहनेछ ।
त्यस्तै, अन्य बैंकबाट कर्जा लिइरहेको सवारीसाधनलाई समेत फाइनान्स गर्न सकिने र व्यक्तिगत ग्राहकलाई गाडीको बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ । एक्स्पोमा डिजिटल माध्यमबाट कर्जा प्रक्रिया तथा ग्राहक परामर्शलाई समेत सहज बनाइएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष अटो लोन योजना ल्याएको छ । बैंकले ५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने तथा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लिने जनाएको छ ।
अफरअन्तर्गत कर्जाको ब्याजदरमा वार्षिक १ प्रतिशत प्रिमियम कायम गरिनेछ । पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएसँगै अटो लोनको ब्याजदरसमेत घट्दो क्रममा रहेको छ । केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर अटो लोनको ब्याजदर निर्धारण गर्न सक्नेछ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले पनि नाईमा एक्स्पोलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियम थपेर अटो कर्जा उपलब्ध गराउने जनाएको छ ।
योजनाअन्तर्गत हाल अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ भने त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाएको छ ।
बैंकले आवश्यक कागजात तथा कर्जा आवेदन प्रक्रिया पूरा भएका ग्राहकलाई २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने जनाएको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिद गर्न छिटो र सहज कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।