काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र दुग्ध विकास संस्थानबीच दुध खरिदविक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १ गते देखी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवम् सदस्य किसानहरुले १५ हजार दुध दैनिक डिडिसीलाई उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौता अनुसार आगामी दिनमा दैनिक ६० लि. दुध डिडिसीलाई साझेदार संस्था एवम् सदस्य किसानहरुले डिडिसीलाई प्रदान गर्ने उल्लेख छ ।
डिडिसीले यि दुइ संस्थाका सञ्जाल मार्फत यस अघि दुध लियर तिर्न बाँकी रकम आगामी १ महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दुधको मात्रा र गुणस्तर सुरुवाती संकलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दुधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौता पछि बोल्नुहुँदै संस्थानका महाप्रवन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । महाप्रवन्धक पाण्डेले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरुले गरेको योगदान प्रति उच्च प्रशंसा गर्दै यस सञ्जालसंग जोडिएर डिडिसीले काम गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए ।
उनले दुग्ध संकलन र बजारीकरण मात्र नभइ पशुपालन र दुग्ध उत्पादनको बहुआयमिक क्षेत्रमा काम गर्ने स्पष्ट पारे ।
डिडिसीमा विगतमा देखीका भुक्तानी लागयतका समस्याहरु अब नदोहोरीने भन्दै महाप्रवन्धक पाण्डेले नियमित भुक्तिानीको ग्यारेन्टि गरेरै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै महाप्रवन्धक पाण्डेले यस सम्झौताले यी सबै बाटो खुलेको बताए ।
किसानको जीवनस्तर सुधारसंगै आर्थिक सामाजिक रुपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।
यसैगरी सम्झौता पश्चात बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष खेम बहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष पाठकले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षहरुदेखीनै आफूहरुले साथ सहयोग गर्दै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताए ।
पाठकले प्रधानमन्त्रीको समेत प्राथमिकतामा परेको डिडिसीलाई माथी उठाउन किसानतहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
उनले दुधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
डिडिसी प्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुवात भइसकेको प्रष्ट देखिसकिएको भन्दै अध्यक्ष पाठले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरु ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गरे । पाठकले कहिँकतै कुनै कमिकमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाइ अनुरोध गरे ।
यसैगरी सम्झौता पश्चात बोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसंग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानहरुका लागि एैतिहासीक दिन भएको उल्लेख गरे ।
उनले सबै किसानहरुको जीवनमा आर्थिक रुपमा सवलता ल्याई मुहारमा खुसी थप्दै जान यो सम्झौताले सहयोग पुग्ने स्पष्ट पारे ।
अहिले केन्द्रीय संघको सञ्जालमा रहेका संस्थाहरुले दैनिक ४७ हजार लिटर दुध उत्पादन गर्दै आएको भन्दै उनले यस उत्पादनलाई बढाव दिँदै जाने विषयमा समेत यस सम्झौताले प्रेरणा थप्ने बताए । अहिले तत्कालका लागि १५ हजार लि. दुध डिडिसीलाई दिने सम्झौता भएको भन्दै अध्यक्ष उप्रेतीले दुध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुने कुरामा आफु विश्वस्त रहेको बताए ।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रवन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रवन्धक डा. सरन कुमार पाण्डेले हस्ताक्षर गरेका थिए ।
सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, बरिष्ट प्रवन्धक दिपाकर रुपाखेती, डिडिसीका उप महाप्रवन्धक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।